धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको विरोध गर्नेहरुप्रति आक्रोश व्यक्त गर्नुभएको छ । शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने बताउनुभयो ।
एमसीसी नेपालको कानुनभन्दा माथि नरहेको दाबी गर्दै प्रधानमन्त्री देउवाले यसबारे झुटा प्रचार भइरहेको दाबी गर्नुभयो । पत्रकारले राखेको जिज्ञासामा देउवाले एमसीसी ऋण होइन, अनुदान हो भन्दै पास गर्ने बताउनुभएको हो ।
‘यो नेपालकै कानुनअनुसार हुन्छ। यति ठूलो अनुदान आएको छ, तर त्यो पनि चाहिएन भन्छन्, हद भइसक्यो’ प्रधानमन्त्रीको आक्रोश थियो ।
संशोधन हुन्छ कि हुबहु? भन्ने प्रश्नमा देउवाले अनुदानजस्तो कुरामा अलमल गर्न नहुने उल्लेख गर्नुभयो ।
बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोबाट ठूलो मात्रामा जनधन क्षति भएको सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको अवलोकनपछि शुक्रबार बिहान नेपाल प्रेस युनियन (कैलाली) ले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवा बोल्दै हुनुहुन्थ्यो ।
त्यस क्रममा उहाँले बाढीपहिरो पीडितलाई तत्काल उद्धार र राहतको व्यवस्था गरिने आश्वासन पनि दिनुभयो ।