काठमाडौं । समाज कल्याण परिषदका उपाध्यक्षसहितका पदाधिकारीहरुले पदबाट सामूहिक राजीनामा दिएका छन् ।
परिषदका उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुष्कर खातीलगायतका बोर्ड सदस्यहरुले शुक्रबार पत्रकार सम्मेलन गरी आफूहरुले पदबाट सामूहिक राजीनामा दिएको जानकारी गराउनु भएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समेत नेतृत्व लिनु भएका परिषदका अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले परिषदको बजेट पास गर्न नदिएको र केपी ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका परिषदमा कार्यरत अस्थायी, ज्यालादारी र करारका कर्मचारीको मात्रै म्याद थप गर्न नदिएपछि आफूहरुले पदबाट दिनु परेको परिषदका सदस्य सचिव खातीले जानकारी दिनु भयो ।
२०५३ सालदेखि अस्थायी, ज्यालादारी र करारमा काम गर्दै आएका सबै कर्मचारीको म्याद थप हुने तर ओली नेतृत्वको सरकारको पालाका कर्मचारीहरुको चाँही म्याद थप नहुने अवस्था परिषदको स्थापित मान्यता विपरित भएकाले आफूहरुले सरकारलाई मार्ग प्रशस्त गर्न पदबाट राजीनामा दिएको पनि उहाँले स्पष्ट पार्नु भयो ।
परिषदका उपाध्यक्ष खतिवडा, कोषाध्यक्ष सुवेदी, सदस्य सचिव खाती, बोर्ड सदस्यहरु नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ र डा. मणिराम बञ्जाडेलाई केपी ओली नेतृत्वको सरकारले २०७७ साल साउन ५ गते परिषदमा नियुक्त गरेको थियो ।
शुक्रबार बिहानै प्रधानमन्त्री देउवालाई सामूहिक रुपमा राजीनामा बुझाएका उनीहरुले आफनो १४ महिने कार्यकालमा सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको क्षेत्रको रुपमा स्थापित गराउने गरी अघि बढाएको, परिषदलाई प्रविधिमैत्री बनाएको र ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गराउने दिशामा आफूहरुले सम्पूर्ण शक्ति परिचालन गरेको दावी समेत गरेका छन् ।