काठमाडौं । राष्ट्रिय जनमोर्चा, दार्चुलाका सचिव उमेश महराले फुटपरस्त तत्वसँग आफ्नो कुनै सरोकार नरहेको बताउनुभएको छ । केही दिनअघि राजमोका नाममा सुदूरपश्चिममा कथित भेला गरेको समूहका व्यक्तिहरुले आफूलाई भ्रममा पारेर उनीहरुको पक्षमा विज्ञप्ति निकाल्न लगाएको महराले बताउनुभयो ।
युगदर्शनसँग सम्पर्क गरी महराले भन्नुभयो, ‘मलाई विज्ञप्तिको फर्मेट नै पठाएर यसमा हस्ताक्षर गर्नुपर्यो भने । पार्टीकै साथीहरुले भनेपछि मैले हस्ताक्षर गरेँ । तर, पछि थाह भयो उनीहरु त फुटपरस्त पो रहेछन् ।’
आफूले दार्चुलाका अध्यक्ष मनवीर दमाईलगायत साथीहरुसँग सल्लाह गर्न खोजेपनि उनीहरुले सल्लाह गर्न नदिई भ्रममा पारेर हतारमा आफ्नो पक्षमा विज्ञप्ति निकाल्न लगाएको र फेसबुकमा राखेर प्रचार गरेको महराले बताउनुभयो । सचिव महराले राष्ट्रिय जनमोर्चाप्रतिको आफ्नो आस्थामाथि सो समूहले खेलवाड गरेको आरोप पनि लगाउनुभयो ।
‘हामी चित्रबहादुर केसीले नेतृत्व गरेको राष्ट्रिय जनमोर्चाका आस्थावान कार्यकर्ता हौँ । हाम्रो आस्थामाथि फुटपरस्त व्यक्तिहरुले खेलवाड गरे’ महराले भन्नुभयो, ‘उनीहरुले त फुटेर जानको लागि पो हामीलाई प्रयोग गरेका रहेछन् ।’
उहाँले फुटपरस्त समूहले राष्ट्रिय जनमोर्चाको नाममा भेला गरेर आफूजस्तै कैयौं साथीलाई भ्रममा पारेको भन्दै भ्रममुक्त भएर पार्टी काममा फर्किन पनि साथीहरुसँग आग्रह गर्नुभएको छ ।