बागलुङ । राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिका वडा नं. ४, तंग्रामको वडा प्रशिक्षण भेला शनिवार सम्पन्न भएको छ । धारा माविको सभाहलमा सम्पन्न प्रशिक्षण भेलाको उदघाटन राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अध्यक्ष थापाले अनुदानको नाममा एमसीसी सम्झौता गरे मुलुकको राष्ट्रिय स्वाधीनता खतरामा पर्ने बताउनु भयो । बिभिन्न बाहानामा पटक पटक मुलुकको स्वाधीनतामाथि सौदाबाजी गरिरहेको अबस्थामा राष्ट्रियताका लागि सधै संघर्षरत राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरु शसक्त रुपले लाग्न आव्हान गर्नु भयो ।

प्रशिक्षण भेलामा अध्यक्ष थापासहित राजमो बागलुङका सचिवालय सदस्य तथा काठेखोलाका अध्यक्ष लक्षमण पुन, अखिल नेपाल शिक्षक संघका कमला थापा, राष्ट्रिय जनमोर्चा काठेखोलाका सचिव तथा काठेखोला गाउँ कार्यसमिति सदस्य टिका संगम विकले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल भूतपूर्व सैनिक संघ बागलुङका सचिव थिर बहादुर राना, अखिल नेपाल शिक्षक संघ काठेखोलाका अध्यक्ष धन प्रसाद पुन लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रम वडा समितिका अध्यक्ष विष्णु कँडेलको अध्यक्षता, कृष्ण विकको सञ्चालन र वडा समितिका सचिव शस बहादुर विकले स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।