रौतहट । राष्ट्रिय जनमोर्चा, रौतहटका अध्यक्ष हरिकिशोर महतोले राष्ट्रिय जनमोर्चाका नाममा फुटपरस्त गतिविधि नगर्न चेतावनी दिनुभएको छ । केही दिनअघि प्रदेश २ मा राष्ट्रिय जनमोर्चाको नामबाट कथित प्रदेश भेला गरिएकोमा अध्यक्ष महतोले आपत्ति प्रकट गर्नुभएको छ ।
कथित भेलाबाट बनेको समितिमा आफ्नोसमेत नाम समावेश गरेको भन्दै उहाँले आफ्नो नाम सो समितिबाट अविलम्ब हटाउन चेतावनी दिनुभएको छ । साथै, भूलवस फुटपरस्त गतिविधिमा संलग्न साथीहरुलाई भ्रममा नपर्न पनि आग्रह गर्नुभएको छ ।
मंगलबार एक विज्ञप्ति प्रकाशित गरी अध्यक्ष महतोले भन्नुभएको छ, ‘प्रस्तुत विषयमा २०७८ भदौ २७ गते बारा, सिमरामा भएको राजमो प्रदेश २ को कथित अवैध भेलाले गठन गरेको समिति र त्यसमा मेरो नाम जोडिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । सो फुटपरस्त गतिविधिको भर्त्सना गर्दै म काजिलाल वाईवा नेतृत्वको प्रदेश कमिटीमा प्रतिबद्ध रहेकोले फुटपरस्तहरुलाई मेरो नाम अबिलम्ब हटाउन चेतावनीका साथ सबै साथीहरुमा स्पष्ट रहन जानकारी गराउँदछु ।’
अध्यक्ष महतोको अगुवाईमा पछिल्लो चरणमा प्रदेश २ र खासगरी रौतहटमा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार तीब्र गतिमा अगाडि बढिरहेको छ । राजमोको लोकप्रियताबाट अत्तालिएका तत्वहरुले अध्यक्ष महतोलाई बदनाम गराउन अवैध समितिमा नाम जोडिदिएका स्थानीय नेता कार्यकर्ता बताउँछन् ।
कथित भेलामा उपस्थित नै भएका, राजमोको सदस्य नै नरहेका तथा पार्टीबाट निष्काशित वा लामो समयदेखि निश्क्रिय केही व्यक्तिहरुलाई राखेर कथित समानान्तर समिति बनाइएको जनमोर्चाले जनाएको छ ।
यो पनिः
प्रदेश २ मा फुटपरस्त गतिविधिमा संलग्न तीन जनालाई राजमाेले गर्यो कारबाही
प्रदेश २ मा गरिएको कथित भेला अवैध : राजमो