काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रदेश २ मा फुटपरस्त गतिविधिमा संलग्न तीन जनालाई कारबाही गरेको छ । कर्ण थापा (प्रदेश समिति सदस्य), खगेश्वर शर्मा र दीपक चौधरीलाई सबै जिम्मेवारी र पार्टी सदस्यबाट अनिश्चितकालका लागि निष्काशन गरिएको राजमोले जनाएको छ ।
केन्द्रीय कार्यालयको तर्फबाट सचिव हिमलाल पुरीले प्रेसित गर्नभएको विज्ञप्तिमा राजमो पदेश २ को सिफरिसका आधारमा उनीहरुलाई कारबाही गरिएको स्पष्ट पार्नुभएको छ ।
राजमोले पार्टीको अनुमतिविना गरिएको कथित भेला अवैध रहेको भन्दै काजिलाल वाइवा नेतृत्वको प्रदेश कमिटी नै आधिकारिक रहेको पनि स्पष्ट पारेको छ । साथै भ्रमबस फुटपरस्त गतिविधिमा संलग्न पार्टी सदस्यहरुलाई सो समूहमा संलग्न नहुन पनि आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,
मिति २०७८ भदौ २८ गते बसेको राष्ट्रिय जनमोर्चा प्रदेश नं. २ को प्रदेश समितिको बैठकले मिति २०७८।५।२७ गते केही व्यक्तिहरु जम्मा भएर प्रदेश भेला गरेको भन्ने विषयमा निर्णय गरी केन्द्रमा सिफरीस गरी पठाएको छ । प्रदेश समितिको सिफारीस अनुसार उक्त भेला केन्द्रको अनुमतिबिना, प्रदेश समितिको निर्णयबिना र कतिपय गैरपार्टी सदस्य समेत राखेर गरेकोले अवैधानिक भएको, त्यसबाट गठन भएको समिति पनि अवैधानिक भएको र उक्त कार्य अराजक, फुटपरस्त र अनुशासनहीन गतिविधि गरी पार्टी विरोधी समानान्तर समिति गठन गरेकाले कर्ण थापा (प्रदेश समिति सदस्य), खगेश्वर शर्मा र दीपक चौधरीलाई सबै जिम्मेवारी र पार्टी सदस्यबाट अनिश्चितकालका लागि निस्कासन गरिएको कुरा सबै सदस्य तथा आम जनसमुदायहरुलाई जानकारी गराइन्छ । अन्य कतिपय सहभागीहरुले आफू उक्त कथित भेलामा नगएको, आफ्नो मञ्जुरीबिना वा आफ्नो राजनीतिक चरित्र हत्या गर्ने मनसायले समितिमा राखेको भन्ने सूचना गर्नु भएको छ । छानवीन पछि आवश्यक कारबाही गरिने छ । का। काजीलाल वाइवाको अध्यक्षतामा गठित समिति नै आधिकारीक भएको कुरा जानकारी गराइन्छ ।’
पौडेल र थापालाई कारबाही गर्न प्रदेश समितिको सिफारिस
यसअघि सोमबार बसेको राजमो प्रदेश समितिको बैठकले प्रदेशमा फुटपरस्त गतिविधिमा संलग्न चिन्तामणी पौडेल र टिका बहादुर थापालाई समेत कारबाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ ।
अध्यक्ष काजिलाल वाईवाको अध्यक्षतामा बसेको बैठकले उनीहरुलाई कारबाहीका लागि निर्णय गरी केन्द्रमा सिफारिस गरेको राजमो नेता हरिप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
यस्तै, बैठकले फुटपरस्त गतिविधिमा साथ नदिन पार्टी सदस्यहरुसँग आग्रह गर्दै सो कार्यमा संलग्न भएको भेटिए कारबाही गर्ने पनि जनाएको छ ।