काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रदेश नंं २ मा पार्टीको नामबाट आयोजित कथित भेला अवैध भएको बताएको छ । साथै सो भेलाबाट गठन भएको समिति पनि अवैध भएको राजमोले जनाएको छ ।
महासचिव मनोज भट्टले आइतबार वक्तव्य प्रकाशित गरी राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिले काजीलाल वाइवाको नेतृत्वमा पछि प्रदेश सम्मेलन गर्ने गरी गठन गरिएको प्रदेश समिति नै आधिकारीक भएको स्पष्ट पार्नुभएको छ ।
सो भेलाबारे छानबिन हुने र फुटपरस्त गतिविधिमा संलग्नमाथि दलको विधान बमोजिम कारबाही हुने स्पष्ट पार्दै राजमोले फुटपरस्त तत्वको भ्रममा नपर्न पनि सबैसँग अपिल गरेको छ ।
यस्तो छ वक्तव्यः
‘यही भाद्र २७ गते राष्ट्रिय जनमोर्चा प्रदेश नं. २ को प्रदेशस्तरीय भेला भनेर जुन प्रकारको गतिविधि भएको छ, त्यो अराजक र फुटपरस्त गतिविधि हो । त्यसलाई हामीले विरोध गर्दछौँ । त्यसको भ्रममा नपर्न पार्टीका साथीहरु र आम जनसमुदायलाई अपील गर्दछौँ ।
पार्टीमा भएका मतमतान्तर वा समस्यालाई समाधन गर्ने विधि र प्रक्रिया छन् । त्यो विधि र प्रक्रिया नअपनाई, केन्द्रको सहमति बेगर भएको त्यो भेला अवैधानिक छ त्यसका साथै प्रचार गरिएको समिति समेत अवैध छ ।
राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिले का। काजीलाल वाइवाको नेतृत्वमा पछि प्रदेश सम्मेलन गर्ने गरी गठन गरिएको प्रदेश समिति नै आधिकारीक हो ।
समानान्तर समिति गठन गर्ने उद्देश्यले गरिएको कथित प्रदेश भेला आयोजना गर्नमा कसको के भूमि रह्यो त्यसबारे छिट्टै छानवीन हुनेछ र फुटपरस्त गतिविधिमा संलग्न भएकाहरुलाई दलको विधान बमोजिम आवश्यक अनुशासनको दायरामा ल्याइने छ ।’
मितिः २०७८ भदौ २७ गते
मनोज भट्ट
महासचिव