काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले पार्टी फुटिसकेको अवस्थामा नेकपा (एमाले) ले संसद बैठक अवरोध गरिरहनु उचित नहुने बताउनुभएको छ । सोमबार सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठकमा एमालेसँग वार्ता थाल्न बैठकले सुझाव दिएको जानकारी दिनुभएको छ ।
बैठकपछि बाहिरिएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राजमो उपाध्यक्ष पौडेलले पार्टी नै फुटिसकेको अवस्थामा एमालेले संसद अवरोध गरिरहनु ठीक नहुने बताउनुभयो ।
‘अब पार्टी नै फुटिसकेको छ। यो अवस्थामा एमालेले संसद अवरुद्ध गरिरहुन ठीक होइन’ उहाँले भन्नुभयो, ‘तर बैठकले एमालेसँग संवाद अघि बढाउन सभामुखलाई भनेको छ ।’
पौडेलले एमालेसँग संवाद बढाएर सभामुखले फेरि अर्को सर्वदलीय बैठक डाक्ने बताउनुभयो । ‘एमाले दलका नेतासँग संवाद गर्न सभामुखलाई भनेका छौँ’ उहाँले भन्नुभयो, ‘एमालेलाई पनि सहभागी गराउने गरी अर्को बैठक डाक्न भनिएको छ ।’
एमालेले लगातार संसद बैठक अवरुद्ध गरेपछि सभामुखले त्यसबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको हो । सभामुख सापकोटाले बोलाएको बैठकमा नगएको प्रमुख प्रतिपक्षी एमालेले सापकोटालाई पदबाट राजीनामा दिन दबाब दिएको छ ।

गत वैशाख २७ गते एमालेले लगाएको ह्वीप उल्लंघन गरेका माधव नेपालसहितका १४ सांसदमाथि गरिएको कारबाहीको सूचना नटाँसेको भन्दै एमालेले सभामुखलाई राजीनामा दिन भनेको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए ।