परासी । जिल्लामा अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्न सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने अभियान सुरु गरेको हो ।
प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनीले गैँडाकोट नगरपालिका–१२ र १३ का अति अशक्त रूपमाया सापकोटा, सौरभ हमाल र समीर थापालाई घरमै पुगेर नागरिकता प्रदान गरी अभियानको सुरुवात गर्नुभएको हो । अतिअशक्त, अपाङ्गता भएका व्यक्ति जिल्ला प्रशासन कार्यालयसम्म आउन निकै समस्या हुने हुँदा उनीहरूको सहजताका लागि र उमेर पुगेर पनि समयमा नागरिकता नबनाई नबसुन् भनेर अभियानको थालनी गरिएको प्रजिअ पङ्गेनीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै आठ वटै स्थानीय तहसँग समन्वय गरेर अभियानलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।
कतिपय अति अशक्त अपाङ्गता भएकालाई परिवारले नागरिकता बनाउन प्रशासनमा ल्याउन नसक्दा ती नागरिक नागरिकताविहीन हुने र उनीहरूले सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनुपर्ने अवस्था आउने हुँदा यो अभियान सञ्चालन गरेको पङ्गेनीले बताउनुभयो ।
‘गाह्रो हुने हुँदा उमेर पुगेर पनि परिवारले नागरिकता बनाउन ल्याउन नसकेका घटना छन्, यसले ती नागरिक नागरिकताविहीन हुने, सरकारले प्रदान गर्ने सेवासुविधाबाट समेत वञ्चित हुनुपर्ने अवस्था हुने, त्यसैले यो अभियान सुरु गरेका हौँ’ प्रजिअ पङ्गेनीले भन्नुभयो ।
अपाङ्गता परिचय पत्र स्थानीय तहले प्रदान गर्ने भएकाले कुन वडामा कति जना, अति अशक्त र अपाङ्गता भएका नागरिक छन्, नागरिकता नबनाएका कति छन्, त्यसको लगत स्थानीय तहबाट लिने र त्यसैका आधारमा नागरिकता वितरण गर्ने गरी काम अगाडि बढाइएको प्रजिअ पङ्गेनीले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने अभियान राम्रो भएको अपाङ्ग पुनस्र्थापना केन्द्र नवलपुरका अध्यक्ष सागर लुइँटेलले बताउनुभयो ।
जिल्ला प्रशासनको यो अभियानलाई सार्थक बनाउन स्थानीय तहले समेत भूमिका निर्वाह गरे अपाङ्गता भएका नागरिकले सहज रूपमा नागरिकता प्राप्त गर्ने र राज्यबाट पाउने सेवासुविधाबाट उनीहरु वञ्चित हुनुनपर्ने उहाँले बताउनुभयो ।