काठमाडौं । सत्तारुढ दलहरूमा मन्त्री बन्ने आकांक्षी धेरै भएपछि नेताहरूलाई व्यवस्थापन गर्न हम्मे हम्मे परिरहेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको डेढ महिना भन्दा बढी समय वितिसके पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।
गएको असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । उहाँसँगै चारजना मन्त्रीले शपथ खाएका थिए । तर, यति लामो समयसम्म पनि दलहरूले मन्त्री छनौट गर्न सकेका छैनन् । हाल नेपाली कांग्रेसका दुई र नेकपा माओवादी केन्द्रका दुई जना गरी चारजना मन्त्री छन् भने बाँकी २० मन्त्रालय एक्लै प्रधानमन्त्री देउवाको जिम्मामा छ ।
हालै नेकपा (एमाले) विभाजित भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएको छ भने जनता समाजवादी दल विभाजित भएर लोकतान्त्रिक समाजवादी दल बनेको छ ।
सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) एकीकृत समाजवादी र जनता समाजवादी दल छन्, उनीहरुबीच नै मन्त्रालयको भागबण्डा मिलिरहेको छैन । त्यसबाहेक महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीले पनि सरकारमा जाने बाटो खोजेको छ । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको महन्थ ठाकुर पक्ष पाएसम्म सरकारमा सामेल हुने तरखरमा छ तर, उपेन्द्र यादव पक्षले भने महन्थलाई सरकारमा लैजान चाहेको छैन ।
पुरानासँगै नयाँ गठन भएका दलमासमेत मन्त्रीका आकांक्षी धेरै देखिएका छन् । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्र व्यवस्थापन गर्न आफ्नो पार्टीलाई ७ मन्त्रालय दिनुपर्ने अडान राख्नुभएको बुझिएको छ । गठबन्धनको बैठकमा अध्यक्ष नेपालले ७ वटा मन्त्रालय नदिईए सरकारमा सहभागी हुन आफूहरुलाई अप्ठ्यारो रहेको सुनाउनुभएको थियो । प्रधानमन्त्री देउवाले भने माधव नेपालको पार्टीलाई ५ वटा मन्त्रालय दिने बताउनुभएको छ ।
यस्तै, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि आफूहरुलाई ६ वटा मन्त्रालय दिनुपर्ने अडान राख्नुभएको छ । माओवादी केन्द्रले पनि ७ वटा मन्त्रालय मागेको छ ।
केही दिनयता सत्तारुढ गठबन्धनको बैठक निरन्तर बसिरहेको छ । नेताहरू सरकारलाई पूर्णता दिन प्रयत्नशील रहेका छन् । तर, मन्त्रालय भागबण्डाको कुरा नमिल्दा सरकारले पूर्णता पाउन अझै केही दिन समय लाग्ने देखिन्छ ।