ईन्द्रमणि पाण्डे, बागलुङ बजार ।
राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सहइन्चार्ज गौरीश्वर पाण्डेले कुनै पनि व्यक्तिले कति समय राजनीति गर्यो भन्नुभन्दा त्यो व्यक्तिले आफूलाई कुन हदम्म राजनीतिक तथा सैद्धान्तिक रूपमा परिपक्व बनायो भन्ने कुरा सामाजिक प्रक्रियामा महत्त्वपूर्ण रहने बताउनुभएको छ ।
राजमो ढोरपाटन नगरपालिका वडा नं. ४ को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै पाण्डेले उक्त विचार व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा थप मन्तव्य राख्दै उहाँले देशको वर्तमान अवस्थामा प्रतिगमनको खतरा छैन भन्नु अचम्मको कुरा भएको बताउँदै यस्तो खतराका विरुद्ध कार्यकर्ता सजग रहनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाको भूमिका तथा विकास निर्माण तथा जनचासोको बारेमा धारणा व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा जातीय समता समाजका केन्द्रीय सदस्य तथा जिल्लाध्यक्ष नरबहादुर सुनार, रक्तिम सांस्कृतिक अभियानका जिल्ला सचिव सहबिन अर्गेजालगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम राजमो ढोरपाटन–४ का अध्यक्ष खड्गबहादुर कुँवरको अध्यक्षता तथा सचिव कुलबहादुर छन्त्यालको सञ्चालन अघि बढेको थियो ।
सो अवसरमा वडा कोषाध्यक्ष ईन्द्रमान छन्त्यालले स्वागत मन्तव्य राख्नुभएको राजमोका वडा सचिव कुलबहादुर छन्त्यालले जानाकारी दिनुभएको छ ।
