दुर्गानाथ खरेल ##
मान्छे जन्म लिँदै समाजको एउटा सदस्यको हैसियतमा जन्मिएको हुन्छ । सानो छँदाखेरि नै उसको वर्गीय हैसियत सुरु हुन्छ । उसले समान हैसियत चाहन्छ । समान हैसियतमा आफ्ना उमेरका अरूसँग घुलमिल गर्न खोज्छ । तर उसलाई बाध्यतापूर्वक असमान हैसियतमा रहनुपर्छ । उसले सम्पन्न परिवारका सदस्य भई जन्मेका अरूले जस्तो खेलौना खेलाउन पाउन्न । उनीहरू खेल्ने जस्तो सफासुग्घर ठाउँमा खेल्न पाउन्न । पौष्टिक तत्त्व पूरा भएको खाना खान पाउन्न । यी सबै व्यवहारले उसको वर्गीय हैसियत निर्धारण गरेका हुन्छन् । उसलाई आफ्नो तल्लोस्तरको वर्गीय हैसियत निश्चित हुनाको कारण गलत सिकाइन्छ । उसले समान हैसियत चाहन्छ । असमान हैसियतमा रहनुपर्ने कारण बताउँदा गलत तरिका प्रयोग गरिन्छ । फरक हुनुको कारण समाजमा शोषण गर्नु छुट भएका कारणले, शोषित भएको हुनाले असमान व्यवहार ब्यहोर्नुपरेको वास्तविकतालाई काल्पनिक कुरा, अलौकिक कुरा आदि कृतिम र बनावटी कुरा गरेर उसलाई जति जति ठुलो हुँदै जान्छ, उति उति अन्याय, अत्याचार, शोषण र दमन सहने क्षमता बढाउने गरी शिक्षा, दिक्षा दिइन्छ ।
समाज मानव समाज, उच्चस्तरीय समाज, सचेत समाज सबै भएर पनि असमान व्यवहार समान बनाउन होइन, अझै असमानता बढाउनलाई अनुकूलन गरिन्छ । त्यसकारण वर्गीय हैसियत र सामाजिक हैसियत फरक भएको हो । बनाउँदा असमान बनाउने, अनि समान अरूले, अलौकिक शक्तिले अथवा नेताले बनाउन जिम्मा दिने गर्नाले पनि असमानता बढ्दै गएको हो । सामाजिक हैसियत समान बनाउने भनेर मानवअधिकार, न्यायालय, राजनैतिक सङ्घसंस्था र अरू धेरै संस्था खोलिएका छन् । तर ती सबै सङ्घसंस्थाले असमानता बढिरहेको र बढाइरहेको वास्तविकतालाई उल्टो तरिकाले व्याख्या–विश्लेषण गर्छन् ।
काम ताक्ने अथवा ज्याला निर्धारण गर्ने मान्छे आफैले पनि ज्याला लिएर मात्र आवश्यकता पूरा गर्नुपर्ने नभएसम्म वर्गीय र सामाजिक हैसियत समान हुन सक्दैन ।
हाम्रा समस्या प्रकृतिसित सङ्घर्ष गर्नुपर्ने हुने तर समाजमा मान्छेले मान्छेलाई शोषण गर्न छुट छ । तर समाजमा मान्छेले मान्छेलाई शोषण गर्न छुट छ । त्यही कारणले कसैका धेरै खेत, घडेरी, घर, धनसम्पत्ति आदि थपिएकाथपियै छन्; कसैका सकिएकोसकियै छन्; कसैलाई कामैकाम, कसैलाई अधिकारैअधिकार—यी दुवै हटाएर सबैलाई काम र सबैको समान हैसियत, योग्यतानुसार काम र कामअनुसार दाम नबनाएकै कारण शोषण भएको हो ।
वर्गीय हैसित र सामाजिक हैसियत एउटै त्यतिखेर मात्र हुन्छ, जतिखेर उतपादनका साधन व्यक्तिको नाममा दर्ता हुँदैनन् । त्यसो गर्दा मात्र सबै नागरिक मजदुर हुन्छन् । कोही बढी र घटी हुन्छ भने योग्यता, क्षमतामा बढी र घटी हुन्छ । आफूले जानेको काम गर्नुपर्दा कोहीले बढी जानेको हुन्छ, कोहीले घटी जानेको हुन्छ । त्यसकारण कसैको ज्याला कम र कसैको ज्याला बढी हुन्छ । ज्याला निर्धारण गर्ने व्यक्ति आफू पुँजीपति होइन, मजदुर हुन्छ, अझै सर्वहारा मजदुर । उसले पनि योग्यतानुसारको ज्याला काम गरेर मात्रै पाउने गर्दछ । त्यतिखेर मात्रै वर्गीय र सामाजिक हैसियत समान बनाउन सकिन्छ ।
अहिले पनि योग्यतानुसार काम गरेर कामअनुसार दाम दिने गरेको व्यवस्थाको दाबी छ । तर मुख्य कुरा योग्यता निर्धारण पुँजीपतिले गरेर उसले योग्यतानुसार काम दिँदा उसले नाफा कमाउने वा बढी नाफा हुने भन्दा अर्काे उसको उद्देश्य हुन्न । जबसम्म नाफाको उद्देश्य राखिन्छ, तबसम्म शोषण स्वाभाविक हुन्छ अथवा नाफा आर्जन गर्ने भनेको शोषणबाट मात्र सम्भव छ । त्यसकारण त्यसको सोझो सम्बन्ध स्वामित्वसँग हुन्छ । व्यक्तिगत स्वामित्व भएपछि र उसले सञ्चालन गर्ने उद्देश्य नाफा आर्जन गर्ने भएपछि असमानता बढ्नु त स्वाभाविक नै हुन्छ ।
काम ताक्ने अथवा ज्याला निर्धारण गर्ने मान्छे आफैले पनि ज्याला लिएर मात्र आवश्यकता पूरा गर्नुपर्ने नभएसम्म वर्गीय र सामाजिक हैसियत समान हुन सक्दैन । समाजका श्रमजीवी सबैले ज्यालाबाट खर्च चलाउने र चलाउनुपर्ने भएपछि कुरा संस्था चलाउनेतिर जान्छ । समाजमा सबै श्रम गरेर खर्च चलाउने हैसियतमा हुन्नन् । केटाकेटी, विद्यार्थी, बिरामी, अपाङ्ग वृद्धवृद्धा आदिको व्यवस्थापनको नाममा पनि थप शोषण अहिलेको समाजमा भइरहेको छ । ज्येष्ठ नागरिकले जीवनको मुख्य उमेरमा कस्सिएर काम गरे/गराएको हुनाले उनीहरू आफ्नो अनुभवको शिक्षा दिएर सुविधासम्पन्न भई बस्न पाउनुपर्छ । अपाङ्ग पनि समाजको नागरिक भएकाले उनीहरूले सिक्न, जिउन र सम्मानपूर्वक गुजारा चलाएर बाँच्न पाउनुपर्छ । बिरामीको उपचार गर्न भनेर नै शिक्षा लिएकाहरूले योग्यतानुसार काम गर्दा उपचार राम्रो बनाउनैपर्छ, जहाँसम्म आर्थिक पक्षको कुरा छ, सामाजिक हैसियत सरदर सबैको एकै हुने भएपछि राष्ट्रिय आय बढी भए सबैको सुविधा उच्च र निम्न भए सबैको सुविधा निम्न हुँदा कसैले कसैमाथि आँखा देखाउन परेन । सबैको जीवनस्तर सामान्य बनाएर नै जिउनुपर्छ र जिउन सिक्नु पनि पर्छ ।
राज्यसत्तामा संलग्न र उनीहरूका सम्बन्धितलाई सर्वसाधारण श्रमजीवी जनताको सामाजिक हैसियतभन्दा छुट्टै र उच्चस्तरको बनाउने प्रयत्नमाझ जनता सचेत हुँदै जाँदा पर्दाफास गराउँदै जान्छन् र असम्भव बनाउँदै जान्छन् ।
सामाजिक हैसियत फरक हुनुको मुख्य कारण आफूलाई ठुलो बनाउनुपर्ने हुनाले, दानी बनाउनुपर्ने हुनाले अरूभन्दा छुट्टै र विशेष सुविधा लिनुपर्ने चाहनाले; समग्रमा शोषण गर्ने चाहनामा राज्यसत्तामा रहेका र सम्पन्नवर्गको उद्देश्यका कारणले सामाजिक हैसियत समान हुनमा बाधा पुर्याएको छ । यदि सम्पन्न वर्गका व्यक्तिले पनि अथवा सम्पन्न अवस्थाका भए पनि साधारण खानपान र सामान्य व्यवहार प्रदर्शन गर्न सक्ने भएको भए म पनि समाजको एउटा सदस्य मात्र हुँ; सर्वसाधारण जनताका समस्या समाधान गर्ने मेरो पनि जिम्मेवारी हो; मैले पनि समाजमा समानताको अवस्था सृजना र सञ्चालन गर्न आफ्नो योगदान थप्नुपर्छ भन्ने शिक्षा पाएको वा दिएको भए अथवा समाजमा समानताको वातावरण सृजना गरेको भए अवश्य पनि स्थिति यति फराकिलो हुन पाउने दिएन । तर समाजमा यसको ठिक विपरीत र उल्टो किसिमको वातावरण सृजना र सञ्चालन गर्न धेरै मान्छे मात्र होइन, सङ्घसंस्था पनि लागेका र लगाइएका छन् । राज्यसत्ता, जो समाजको परिचालन गर्ने सबैभन्दा ठुलो सङ्गठित शक्ति हो, त्यो नै धनी र गरिबबिच दुरी बढाउन प्रयत्नशील छ ।
व्यक्तिगत स्वामित्व, व्यक्तिगत व्यवसाय, नाफा कमाउनका लागि दिइने प्रोत्साहन, आफू श्रमजीवी हुनुको सट्टा जनताको मालिक बन्ने उद्देश्यका साथ जनताको नाममा जम्मा भएको रकम आफ्नो मातहतमा वितरण गरेर बाँकीलाई आफ्नो निगाहामा सुविधा दिएको हो भन्ने कपटी कुरा र काममा प्रतिष्पर्धा आदि सबै कामले गर्दा समाजमा समानताको विपरीत असमानता बढिरहेको अवस्था अहिलेको समाजमा व्याप्त छ । समाजमा सम्पन्न वर्गीय हैसियत र विपन्न वर्गीय हैसियतबिचको खाडल गहिरो बनाउने काम राज्यसत्ताले गरिरहेको छ ।
राज्यसत्तामा संलग्न र उनीहरूका सम्बन्धितलाई सर्वसाधारण श्रमजीवी जनताको सामाजिक हैसियतभन्दा छुट्टै र उच्चस्तरको बनाउने प्रयत्नमाझ जनता सचेत हुँदै जाँदा पर्दाफास गराउँदै जान्छन् र असम्भव बनाउँदै जान्छन् । फेरि सङ्गठित शक्तिका व्यक्तिसमेत परिवार, नातागोता, सम्बन्धित गरी समाजसँग जेलिएका हुन्छन् । सामाजिक असमान हैसियत र वर्गीय असमान हैसियतले उनीहरूसमेतमा परिवर्तन आइरहेको हुन्छ । सीमित औँलामा गन्न सक्नेका परिवार सम्पन्न हुन सक्लान्, तर हजारौँलाखौँ श्रमजीवीले टुलुटुलु त्यो बढ्दो असमानता हेरेर वा सहेर बस्न नसक्ने अवस्था अवश्य आइपुग्छ ।
मानव समाज सिधा र सरल रेखामा अघि बढ्न नसकेर वर्तुलाकार भई अगाडि बढ्ने र प्रतिगमन पनि हुन सक्ने हुन्छ । समाजमा नयाँ नयाँ परिस्थिति सृजना भइरहन्छन् तर पनि वर्गीय हैसियतमा समानता आउन धेरै समय लाग्न सक्छ ।
मानव चेतना मानव इतिहाससँग सम्बन्धित छ । मानव समाज निरन्तर गति, परिवर्तन र विकासको अवस्थामा अगाडि बढिरहेको छ । समय, परिस्थिति, उत्पादनका साधनको विकासको अवस्था र मानव आवश्यकता तथा तिनीहरू परिपूर्ति गर्ने तरिका आदि विभिन्न कारणले गर्दा उदीयमान शक्तिले मरणासन्न शक्तिको अस्तित्व पराजित गर्ने गर्दछ । अर्काेतिर वस्तुगत अवस्थाको प्रतिबिम्बअनुसार चेतना निश्चित हुने, परिवर्तन हुने र विकास हुने समेत गर्दछ । वस्तुगत अवस्थामा आमूल परिवर्तन भइसक्दा पनि पुरानो प्रतिविम्ब चेतनाको अस्तित्व कायम रहन सक्ने हुनाले समाजमा विभिन्न विचारको अस्तित्व रहिरहन सक्छ । फेरि उच्चभन्दा उच्च विकसित अवस्थामा निम्नभन्दा निम्न अवस्थाका अवशेष पनि रहन सक्ने हुनाले नयाँ पुरै नयाँ र पुरानो पुरै पुरानो हुने अवस्था पनि सापेक्षतामा मात्रै सत्य हुन्छ । निरपेक्ष सत्य अथवा निरपेक्ष असत्य दुवै हुन सक्दैन । त्यसकारण हाम्रो प्रयत्न अघि बढ्ने भएपनि पछिको पनि ख्याल गर्नु पर्छ ।
मानव समाज सिधा र सरल रेखामा अघि बढ्न नसकेर वर्तुलाकार भई अगाडि बढ्ने र प्रतिगमन पनि हुन सक्ने हुन्छ । समाजमा नयाँ नयाँ परिस्थिति सृजना भइरहन्छन् तर पनि वर्गीय हैसियतमा समानता आउन धेरै समय लाग्न सक्छ । जति धेरै समय लाग्ने भए पनि त्यसलाई छिटो बनाउन अग्रगामी परिवर्तन ल्याउन सचेत शक्तिको खाँचो अवश्य पर्दछ, आफै आउन्न । अग्रगामी शक्तिलाई चेतना, सङ्गठन वर्ग र वर्गीय हैसियत महत्त्वपूर्ण पक्ष हुन्छन् । समाज हामी एक्लैले बनेको पनि छैन । एक्लैको प्रयत्नले केही सहयोग पु¥याए पनि पूरा हुन सक्दैन, सङ्गठित शक्तिको आवश्यकता पर्दछ । फेरि सङ्गठन एउटाको चाहना र एउटाको आवश्यकताले बनिहाल्ने पनि होइन । हाम्रा आवश्यकता परिपूर्तिकै सिलसिलामा सङ्गठित हुने र सङ्गठित शक्ति प्रदर्शन गर्दै अघि बढ्न पनि हो । हाम्रा आवश्यकता समान हैसियतका र समान हैसियतले पूरा गर्न पनि परिश्रम खर्च गर्नुपर्छ ।
लामो समयसम्मको समस्या व्यक्तिगत रूपले समाधान गर्ने परिपाटीलाई तुरुन्तै सामूहिकीकरण गरेर मात्रै पनि समाधान निस्कन सक्दैन । व्यक्तिहरू आआफ्नो तरिकाले समाजमा अनुकूल भएर अस्तित्व राखेका छन् । त्यो अस्तित्वमा स्तर उच्च बनाउन अरू धेरै पक्षसमेतको संलग्नता रहेको हुन्छ । त्यसैले वर्ग र वर्गीय हैसियत स्थापित गर्न पनि चेतना र सङ्गठनकै आवश्यकता पर्दछ ।
सङ्घर्ष गर्ने कुरा एउटा पक्ष विरुद्ध, व्यक्ति विरुद्ध, दलविशेष विरुद्ध मात्रै होइन, वर्गीय अस्तित्वका लागि गरिने सङ्घर्षको एउटा हिस्सा मात्रै हो ।
समाजमा वर्ग छन् । वर्गविरोध छ । आआफ्नो वर्गस्वार्थअनुसारका विरोधी शिक्षा छन् । एउटा वर्गलाई हित गर्ने शिक्षाले अर्काे वर्गलाई नोक्सान पुर्याउँछ । हित गरेको छ; हित गर्छ अथवा नोक्सान पुर्याउँछ; नोक्सान पुर्याइरहेको छ भन्ने पनि उही व्यक्तिको भएको हुनाले जसलाई तिर्खा लाग्छ, उही खोलो धाउनुपर्छ भन्ने कुरा पनि एक हदसम्म सत्य नै ठहर्दछ ।
समाजमा सत्तासिन वर्गको वर्गीय हैसियत बाँकी रहेको विरोधी वर्गमाथि बलप्रयोग गरेर भए पनि लागु गराइन्छ । अरू देशले पनि सत्तासिन आफ्नो वर्गलाई अडाउन अथा सत्तासिन विरोधी वर्गलाई भत्काउन सक्दो प्रयत्न गरिरहेका हुन्छन् । त्यस्तो अवस्थामा दृढ अठोटका साथ वर्ग र वर्गीय हैसियतमा विरोधी सत्तासिन वर्गको वर्गीय हैसियतलाई निरुत्साहित र शोषितको वर्गीय हैसियतको पक्षपोषण गरी समाजमा स्थापित गराउन सजिलो हुन्न । त्यसैकारण हो कि माओले ज्वारभाटाका विरुद्ध सङ्घर्ष गर्नेले मात्र क्रान्तिकारी अस्तित्व जोगाउन सक्छन् भन्नुभएको छ ।
सङ्घर्ष गर्ने कुरा एउटा पक्ष विरुद्ध, व्यक्ति विरुद्ध, दलविशेष विरुद्ध मात्रै होइन, वर्गीय अस्तित्वका लागि गरिने सङ्घर्षको एउटा हिस्सा मात्रै हो । प्रकृति विरुद्ध गरिने सङ्घर्षलाई अघि नबढाई हुन्न । त्यसकै सिलसिलामा मान्छेबाट मान्छेमा हुने ज्यादती घटाउने मात्रै हो । वर्गसङ्घर्ष पनि प्रकृति विरुद्धको सङ्घर्षमा बढी जोड दिएर अझ सशक्त बनाउनलाई नै हो । प्रकृतिले हामीमाथि शासन त चलाएकै छ । प्रकृतिको स्थान हामी सबैलाई सम्पूर्ण मानवजातिको पक्षमा उपयोग गरौँ भन्ने मात्रै हो । मान्छेको आपसको खिचातानीले प्रकृति विरुद्धको सङ्घर्षलाई कमजोर बनाएकाले मानव अस्तित्व अझ उच्च हुन सक्ने भन्ने मात्रै हो ।
वर्गसङ्घर्ष गर्ने भनेको सङ्गठित प्रयत्नको फल हो । सङ्गठित प्रयत्न सचेत प्रयत्नको फल हो । सचेत प्रयत्न र सङ्गठित प्रयत्न लामो तयारीपछि अथवा बलियो आधार बनाएर त्यही आधारमा सञ्चालन गरिने अथवा थपिने उपरी संरचना मात्रै हो । राज्यसत्ता उपरी संरचना हो भने दर्शन, संस्कृति, परम्परा र राजनीतिक पार्टी त्यसका आधार अथवा जरा हुन् । आधार रहँदासम्म उपरी संरचना त अवश्य रहिरहन्छ । त्यसकारण हामीले गर्ने सङ्घर्ष दीर्घकालीन प्रकृतिको छ ।
सामाजिक हैसियत समान बनाउनुभन्दा पहिले वर्गीय हैसियत समान बनाउनुपर्छ । वर्ग हैसियतको मातहतमा आफू रहन सक्नुपर्छ । त्यसका लागि आफ्नो दर्शन छुट्याउनुपर्छ र पहिचान गरेपछि त्यसको पक्षपोषण गर्नुपर्छ ।
वर्गसचेत भएर वर्गीय हैसियत कायम गर्न सक्ने हो भने सामाजिक हैसियतलाई वर्गीय हैसियतको मातहतमा ल्याउन सकिन्छ† किनभने, समाजमा सम्पन्न वर्गका मान्छे भन्दा श्रमजीवी वर्गको मान्छेको सङ्ख्या धेरै छ । त्यति धेरै सङ्ख्यामा भएर पनि आफ्ना वर्गीय हैसियत कायम गर्न सकेका छैनौँ । त्यसो हुनुको कारण हामीले श्रमजीवी वर्गको व्यक्ति भएर पुँजीजीवी वर्गीय हैसितमा रहने चाहना गर्ने मात्रै होइन, हामी उनीहरूको नक्कल पनि गर्दछौँ । जति गरिब छ, उसका चालचलन, रीतिरिवाज, संस्कृति, परम्पराको नक्कल गर्न खोजेका कारण हामी अभाव र गरिबीको खाडलमा खस्ने गरेका छौँ ।
सामाजिक हैसियत समान बनाउनुभन्दा पहिले वर्गीय हैसियत समान बनाउनुपर्छ । वर्ग हैसियतको मातहतमा आफू रहन सक्नुपर्छ । त्यसका लागि आफ्नो दर्शन छुट्याउनुपर्छ र पहिचान गरेपछि त्यसको पक्षपोषण गर्नुपर्छ । विरोधी दर्शनको भण्डाफोर गर्ने र छाड्ने गर्न सक्नुपर्छ । परम्परामा पनि त्यसैगरी आफ्नोको पक्षपोषण र विरोधीको त्याग गर्न सक्नुपर्छ । संस्कृति, चालचलन, कामकर्तव्य सबै आफ्नो वर्ग र वर्गीय हैसियत मातहत छन् भने स्वीकार्ने र विरोधी वर्गीय हैसियतको पक्षपोषण गर्छन् भने छाड्ने गर्न सक्नुपर्छ । त्यसो नगर्ने हो भने हामी गलत ठाउँमा पुग्छौँ ।
वर्ग र वर्गीय हैसियत निर्माण गर्ने कुरा उद्देश्य निर्माणबाट सुरु हुन्छ । उद्देश्य निर्माण गरेपछि त्यसैअनुसारको विश्वदृष्टिकोण निर्माण हुन्छ† निर्माण गर्नुपर्दछ र निर्माण गर्न अध्ययन गर्नुपर्दछ ।
सत्य पत्ता लगाउन पनि सजिलो छैन । सत्यलाई झुटले ढाकेर धेरै गहिराइमा पुर्याएको हुन्छ । सत्य पत्ता लगाउन झुटलाई हटाउनुपर्छ, पन्छाउनुर्छ । एकपछि अर्काे गर्दै धेरै पन्छाएपछि मात्र सत्यको नजिक पुग्न सकिन्छ ।
विश्वदृष्टिकोण दुई वटा कुरासँग सम्बन्धित छ– एउटा सत्य सत्ता लगाउने र अर्काे मुक्तिको बाटो पहिल्याउने । सत्य पत्ता लगाउन पनि सजिलो छैन । सत्यलाई झुटले ढाकेर धेरै गहिराइमा पुर्याएको हुन्छ । सत्य पत्ता लगाउन झुटलाई हटाउनुपर्छ, पन्छाउनुर्छ । एकपछि अर्काे गर्दै धेरै पन्छाएपछि मात्र सत्यको नजिक पुग्न सकिन्छ । फेरि सत्य आफै निरपेक्ष हुन्न । उज्यालो, राम्रो अथवा अँध्यारो राम्रो भन्ने कुरामा मत बाझिन्छ । पढ्ने, लेख्ने, उत्पादनको काम गर्नेका लागि उज्यालो राम्रो भए पनि चोरका लागि अँध्यारो नै उत्तम हुन्छ । त्यस्तै कुन सत्य हो ? छुट्टयाउन पनि सापेक्षतामा नै सत्यको निर्णय गर्नुपर्ने हुन्छ । जसले जुन विषयमा धेरै गहिराइसम्म अध्ययन र अनुसन्धानको साथै व्यहारमा प्रयोग गरेको हुन्छ, उसलाई त्यस विषयमा अथवा सत्यका सबै पक्षको ख्याल गरेर असत्य पन्छाउन र सत्य पत्ता लगाउन सक्छ । सतहको अध्ययन एकपक्षीय हुन्छ । त्यसैले सत्य पत्ता नलाग्न सक्छ ।
मानवमुक्तिको कुरा पनि सजिलो छैन । समाजका धेरै मान्छेको दृष्टिकोणमा व्यक्तिगत स्वामित्वमा उत्पादनका साधन थपेर आफूले धेरै कामदार नियुक्ति गर्ने र आफूले कुनै काम नगरिकन आफ्नो उच्चस्तरीय आवश्यकता पूरा गर्न सकियो भने आफ्नो मुक्ति हुने कुरा गर्छन् । तर तयो शोषणमा आधारित योजना यो । मान्छेको मुक्ति त्यतिखेर मात्र सम्भव हुन्छ, जतिखेर समाजमा मान्छेलाई शोषण गरेको अवस्था र गर्न पाइने अवस्था समाप्त भइसकेको हुन्छ । सबैलाई एकैपटक मुक्त गराउन र मुक्त हुन नसक्ने हुनाले सबभन्दा पहिले वर्ग मुक्त हुनुपर्छ ।
मुक्त भएका वर्गको नेतृत्वमा राज्यसत्ता गठन मानव मुक्तिको दोस्रो स्टेप हो । त्यसपछि वर्गसङ्घर्ष चर्काएर सम्पूर्ण समाजमा शोषण उन्मूलन र राज्यसत्ताको समाप्ति तेस्रो स्टेप हो । यो मानवमुक्तिको काम सर्वप्रथम विश्वदृष्टिकोण परिर्वनबाट सुरु गर्नुपर्छ ।
व्यक्तिगत स्वामित्वलाई सामूहिक स्वामित्वमा लैजान बाधक राज्यसत्ताजस्तो हातहतियारसहितको ठुलो ठुलो सङ्गठित शक्तिलाई हराउन सक्ने गरी सङ्गठित शक्ति निर्माण गर्दै आफ्नो मुक्तिको काम अगाडि बढाएर मात्रै सामाजिक हैसियत निर्माणको काम अगाडि बढाउन सकिन्छ र बढाउनुपर्छ ।
अहिलेको समाजका मान्छेको विश्वदृष्टिकोण जुन दिशा पक्रेर गतिशील भएको छ, पहिला त्यसैमा आमूल परिवर्तन गरी त्यसको ठिक विपरीत दिशामा फर्केर गतिशील हुने बनाउनुपर्छ । यो भनेको हाम्रा आवश्यकताका वस्तु एक्लै वा एक जनाको परिश्रमबाट प्रयोगको अवस्थामा आएका होइनन्, त्यो अवस्थामा आइपुग्न हजारौँ मान्छेको योग्यता, क्षमता र श्रमको उपयोग भएको छ । जस्तै भात खाँदा साधारण वस्तु सम्झे पनि खेत सम्याउने, कुलो खन्नेदेखि धानको खेती गर्ने मात्रै होइन, प्रशोधन गर्न समेत हजारौँ मान्छे उपयोग भइसकेको हुनाले व्यक्तिको नाममा उत्पादनको साधन दर्ता गर्ने व्यवस्थाका विरुद्ध सङ्घर्ष गरेर सामूहिक स्वामित्वमा लैजाने काम गर्नु सबैभन्दा पहिलो काम हो भन्ने विचार दिमागमा घुसाउनु भनेको विश्वदृष्टिकोणमा आमूल परिवर्तन गराउने काम हो ।
व्यक्तिगत स्वामित्वलाई सामूहिक स्वामित्वमा लैजान बाधक राज्यसत्ताजस्तो हातहतियारसहितको ठुलो ठुलो सङ्गठित शक्तिलाई हराउन सक्ने गरी सङ्गठित शक्ति निर्माण गर्दै आफ्नो मुक्तिको काम अगाडि बढाएर मात्रै सामाजिक हैसियत निर्माणको काम अगाडि बढाउन सकिन्छ र बढाउनुपर्छ ।
वर्गीय असमानता भएको समाजमा सबभन्दा पहिले वर्गीय हैसियत कायम गर्नुपर्छ । त्यसका लागि पनि सिद्धान्त, राजनीतिक र सङ्गठनले क्रमैसँग महत्त्व दिई काम सुरु गरेर शान्तिपूर्ण आन्दोलनको अभ्यास गर्दै आफ्नो शक्ति आर्जन गर्ने र प्रतिस्पर्धाको शक्ति तयार भएपछि सशस्त्र आन्दोलनबाट राज्यसत्ता कब्जा गरेर अघि बढ्नुपर्छ ।