काठमाडौँ । मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुनी वायुको प्रभावसँगै न्यूनचापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बङगालको खाडीको उत्तर–पश्चिमी भागमा निम्नचापीय प्रणाली रहेकाले अझै तीन दिन मनसुन सक्रिय भई अधिकांश स्थानमा हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मान्नधरले बताउनुभयो ।
उहाँँका अनुसार मौसम सफा भई घाम लाग्न अझै केही समय लाग्ने छ । हाल गण्डकी प्रदेशमा सामन्यदेखि पूर्ण बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसोे देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।