काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नयाँ पार्टीको नाम ‘नेकपा (एमाले समाजवादी) हुने भएको छ । एमाले नेता डा. विजय पौडेलले नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता हुने नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न किताब हुने जानकारी दिनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा अन्तरवार्ता दिँदै नेता पौडेलले नेकपा एमालेका ४५–४६ जना सांसद र ९२ जना केन्द्रीय सदस्य माधव नेपाल विचार समूहमा रहेको बताउनुभयो । उहाँले ह्वीप उल्लंघन गरेको आरोपमा माधवकुमार नेपाललगायत १४ सांसदमाथि कारबाही हुन नसक्ने पनि जिकिर पनि गर्नुभयो ।
पार्टी एकताका लागि अधिकतम प्रयास गर्दा पनि विभाजन हुने स्थिति आएको नेता पौडेलको दाबी छ । ओलीसँग मिल्ने कि नयाँ दल बनाउने भन्ने कुरामा विचार गर्न सबै साथीहरु स्वतन्त्र रहेको उहाँको भनाई छ ।
‘हामीले अन्तिम समयसम्म एकताको प्रयास गरेका हौं । हिजो घनश्याम भुसालजी ओलीकहाँ जानुभएकै हो’ पौडेलले भन्नुभयो, ‘अब को सँग बस्ने भन्ने कुरा साथीहरुकै विचार हो । यो स्वतन्त्र छनोटको विषय हो ।’
नेता पौडेलले आफूहरूले पार्टी विभाजन गरेको नभई केपी ओलीले नै विभाजन गरेको जिकिर गर्नुभयो । छरिएको बिस्कुन उठाउने काम मात्रै गरेको उहाँको दाबी छ ।
‘पार्टी विभाजन त केपी ओलीले २०७७ फागुन २८ गते नै गरिसक्नुभएको हो । पार्टी नेताहरुको सबै पद खारेज गरेर पार्टी विधानमै नभएको जम्बो महाधिवेशन आयोजक कमिटी बनाएको होइन ? हामी पार्टी फुटाउने जस्तो शब्द प्रयोग गर्दैनौं । नयाँ पार्टी गठन छरिएको बिस्कुन उठाउने कोसिस हो’ पौडेलले भन्नुभयो ।
नेता पौडेलले ओलीले गलहत्याएर लखेटेपछि अन्तिम विकल्प पार्टी दर्ता गर्नैपर्ने अवस्थामा पुगेको दाबी पनि गर्नुभयो ।
‘ओली र उहाँका वरिपरिका साथीहरुको शब्दकोशमा आत्मालोचना र समीक्षा छँदै छैन’ पौडेलले भन्नुृभयो, ‘ढोकामा मुंग्रो लिएर लखेट्न थालेपछि हामीले पनि ज्यान जोगाउनै पर्यो । गलहत्याएर लात्ती हानेपछि के गर्ने ?’
सरकारले माधव नेपाललाई सहज हुनेगरी पार्टी केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्याएर पार्टी विभाजन गर्न सक्नेगरी अध्यादेश ल्याएको छ । सो अध्यादेश राष्ट्रपतिबाट आज जारी हुने बताइएको छ ।