काठमाडौं । उपचारका लागि गएका एक पुरुषलाई यौन हिंसा गरेको आरोपमा धनकुटाबाट एक जना चिकित्सक पक्राउ परेका छन् । धनकुटा–७ मा रहेको सुवास मेडिकलका सञ्चालक डा .राज शर्मालाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Advertisement
पिसाबसम्बन्धी समस्या भई उपचारका लागि गएका धनकुटाको पाख्रिबासका ५३ वर्षीय पुरुषलाई बलात्कार गरेको आरोपमा शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
राति साढे १० बजे मादक पदार्थ सेवन गरी बिरामी कक्षमा पुगेका शर्माले आफूलाई यौनहिंसा गरेको भन्दै पीडितले प्रहरीलाई उजुरी दिएका छन् ।
प्रारम्भिक अनुसन्धानबाट बिरामी पुरुषमाथि यौनहिंसा पुष्टि भएको प्रहरीको भनाई छ । तर, शर्माले भने आरोप अस्वीकार गरेका छन् । उनले बिरामीले आफूलाई अभद्र व्यवहार गरेको आरोप लगाएका छन् ।
घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।