काठमाडौं । भारतको गुजरातमा सडक किनारामा सुतिरहेका मजदुरलाई ट्रकले किच्दा ८ जनाको मृत्यु भएको छ ।
Advertisement
सोमबार बिहान ३ बजे तीव्र गतिको ट्रकले सडक किनारामा सुतिरहेका मजदुरलाई किचेको भारतीय सञ्चारमाध्यम अमर उजालाले जनाएको छ । घटनामा अन्य केही व्यक्ति घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार ट्रक चालकलाई निद्रा लागेका कारण नियन्त्रण गुमाउँदा सडक किनारको एउटा झुपडीमा ट्रक घुसेको थियो । झुपडीमा १० जना मजदुर सुतेका प्रहरीको भनाई छ । मृतक मध्ये दुई जना १३ वर्षका किशोर छन् ।
त्यहाँका मुख्यमन्त्री विजय रुपाणीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई ४/४ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् । प्रहरीले ट्रक तथा चालकलाई गिरफ्तार गरेर घटनाको अनुसन्धान थालेको छ ।