काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्धारा अतिक्रमित भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेपालको सीमाको रक्षा गर्न र भारतद्धारा अतिक्रमित नेपाली भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
सोमबार विहान आफ्नै सरकारी निवास वालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकमा उहाँले भारतीय नक्सामा नेपालको भूमि समावेश गरिएको विषयमा नयाँदिल्लीस्थित राजदुतावासमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको पनि जानकारी गराउनु भएको थियो । ‘यस बारेमा हाम्रो नयाँ दिल्लीस्थित राजदुतमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको छ, प्रधानमन्त्रीको भनाई उधृत गर्दै प्रवक्ता श्रेष्ठले भन्नु भयो, ‘ती समस्या समाधानका लागि छिट्टै उचित कूटनीतिक संयन्त्रमार्फत् भारतसँग वार्ता प्रक्रिया अघि बढाइनेछ ।’
बैठकमा प्रधानमन्त्री ओलीले द्धिपक्षीय वार्ताका लागि नेपाल सरकारले आफ्नो आधिकारिक दस्ताबेज तयार पार्ने कामलाई पनि अघि बढाएको पार्टीको सचिवालय बैठकमा ब्रिफिङ गर्नु भएको थियो । भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरिएकोमा नेपाल सरकारले असहमति जनाईसकेको छ ।
उता, भारतले पनि सो समस्या समाधानका लागि सचिव स्तरीय वार्तामा बस्न सकिने जनाउ सरकारलाई दिईसकेको छ । यसैबीच, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी अनुशासन आयोगको अध्यक्षमा अमृतकुमार बोहोरालाई चयन गरेको छ । बैठकले आयोगको सचिवमा भने अशोक रोकायलाई चयन गरेको पनि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो । त्यसैगरी बैठकले केन्द्रय निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ तथा सचिवमा माधव पौडेललाई चयन गरेको छ ।
लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य, केन्द्रिय सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा तथा ज्येष्ठ कम्युनिष्ट मंचको अध्यक्षमा नन्दकुमार प्रसाईँ र सचिवमा गोविन्द ज्ञवालीलाई चयन गरिएको छ । बैठकमा पार्टीको प्रवास कमिटी गठन नगर्ने तर त्यसको विकल्पको खोजी गर्ने निर्णय पनि गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

