सुष्मा सुब्बा लामा ##
नेपाल विकासोन्मुख देश हो । विगतदेखि वर्तमानसम्मको राजनीतिक, भौगोलिक, सांस्कृतिक एवम् पारस्परिक परिदृष्यलाई हेर्ने हो भने मुलुकको चौतर्फी विकास गर्न धेरै समय लाग्ने देखिन्छ । विश्वको मानचित्र एवम् जनसङ्ख्याको तुलनामा नेपाली जनता धेरै होइनन्, यति थोरै मानिसलाई सुव्यवस्था गर्न राज्यसंयन्त्रलाई यति धेरै धौ धौ हुनु लाजमर्दो कुरो हो । मैले यसो भनिरहँदा कोही कसैप्रति अपमान गर्न खोजेको होइन, भलै यो यथार्थलाई आम नेपालीमाझ पस्कनै पर्छ भन्ने मेरो आसय भने पक्कै हो ।
बिहान ९ बजेसम्म पसल खोल्न दिने, त्यसपछि बन्द गर्ने र फेरि बेलुकी दुई घण्टाका लागि खुकुलो बनाइदिने अवैज्ञानिक प्रणाली नै हाँसोउठ्दो कुरो छ ।
वास्तवमा अहिले नेपाल लकडाउन, लुजडाउन अनि फेरि लकडाउनको चक्रब्युहमा फसिरहेको छ । एक दिनअघि कोरोना कहरका डरले लकडाउन हुने, प्रशासनले केही दिन अत्यधिक कडाइ गर्ने, अनि फेरि लुजडाउन गर्दै जाने, महामारीको रोकथामका लागि कुनै भूमिका नखेल्ने मात्रै लकडाउनलाई महामारी रोक्ने अस्त्रको रूपमा लिने सरकारी रवैया नै गलत छ । बिहान ९ बजेसम्म पसल खोल्न दिने, त्यसपछि बन्द गर्ने र फेरि बेलुकी दुई घण्टाका लागि खुकुलो बनाइदिने अवैज्ञानिक प्रणाली नै हाँसोउठ्दो कुरो छ । तरकारी बजारमा यति धेरै मानिस हुन्छन् कि तिनले कोरोना सङ्क्रमण फैलाउँदैनन्, तर दुईचार जना भेला भएर हिड्दा कोरोना सरिहाल्छ, सङ्क्रमण दर बढिहाल्छ भन्ने अबुझ र अदूरदर्शी सोच अहिलेको पराकाष्ठा हो । यो शृङ्खला हेर्दा हेर्दा १६ महिना बितिसक्यो । सरकार लकडाउन र लुजडाउनकै गणितमा फसिरहेको छ ।
२०१९ को नोभेम्बरबाट चीनमा देखिएको कोभिड १९ क्रमिक रूपमा युरोप, अमेरिका हुँदै दक्षिण एसिया र पछि दक्षिणीपूर्वी एसिया तथा अस्ट्रेलियासम्म फैलिँदै यसले मानवजातिलाई नै आक्रान्त बनाइरहेको छ । यस महामारीले समाजका हरेक तहतप्काकालाई असर पुर्याउँदै आएको छ भन्दा अतिसयोक्ति नहोला । हुन त मानवजातिको उदयसँगै यस प्रकारका थुप्रै महामारी फैलिएको र त्यसबाट हजारौँ, लाखौँ, करोडौँ मानिसले अकालमा ज्यान गुमाउनुपरेका उदाहरण हामीसँग जीवितै छन् ।
रोगकै कारण मानिसले औषधिको निर्माण गर्यो, आवश्यकता महसुस हुँदै जाँदा विश्वमा अन्य थुप्रै आविष्कार भए । चौधौँ शताब्दीको पाँचौँ र छैटौँ दशकमा प्लेगको महामारी युरोपभर फैलियो, जसका कारण युरोपको एकतिहाइ जनसङ्ख्या मृत्युको मुखमा पुगेको थियो । पन्ध्रौँ शताव्दीको अन्त्यसम्ममा अमेरिकामा ठेउलाको महामारी र जलवायु परिर्वतनले ठुलै समस्या निम्त्याए । युरोप विस्तारपछि अमेरिकाको करिब छ करोड जनसङ्ख्या उक्त एक शताब्दीमा घटेर ६० लाखमा सीमित भएको तथ्याङ्क बेलायतको युनिभर्सिटी कलेज अफ लन्डनका वैज्ञानिकले आफ्नो एक अध्ययनमा समावेश गरेका छन् । १६४१ मा उत्तरी चीनमा फैलिएको प्लेगले २० देखि ४० प्रतिशत जनसङ्ख्या साफ भयो भने सोही महामारीका कारण मिङ राजवंशको पतन भएको इतिहास छ । दादुरा, मलेरिया, प्लेग, रुघाखोकी र टाइफसलगायत रोगले अमेरिकामा करोडौँ मानिसको ज्यान लिए, जसको परिणाम सम्पूर्ण विश्वले नै बेहार्नुपर्यो ।
समयको अन्तरालसँगै आधुनिक चिकित्सा जगत्मा यति ठुलो विकास भयो कि लाग्थ्यो, अब त कुनै महामारीबाट मानिस तथा अन्य जीवले अनाहकमा ज्यान गुमाउनुपर्दैन होला । तर त्यसो भएन ।
महामारीकै इतिहासमा एल्लो फिभर र फ्रान्स विरुद्ध हाइटीको विद्रोहले आफ्नो इतिहास ताजै राखेको पाइन्छ । त्यसो त अफ्रिकी जनावरमा फैलिएको एक महामारीका कारण युरोपेली मुलुकलाई आफ्नो साम्राज्य फैलाउने मौका मिल्यो । १८८८ र १८९७ का बिचमा फैलिएको राइन्डरपेस्ट नामको उक्त भाइरसले अफ्रिकामा लगभग ९० प्रतिशत घरपालुवा जनावरको विनाश गर्यो । यसलाई जनावरमा हुने प्लेग नामकरण गरियो । फलस्वरूपः युरोपेली शक्तिराष्ट्रले १९०० सम्ममा अफ्रिकी मुलुकका ९० प्रतिशत भूभाग कब्जामा ल्याइसकेका थिए ।
समयको अन्तरालसँगै आधुनिक चिकित्सा जगत्मा यति ठुलो विकास भयो कि लाग्थ्यो, अब त कुनै महामारीबाट मानिस तथा अन्य जीवले अनाहकमा ज्यान गुमाउनुपर्दैन होला । तर त्यसो भएन । पछिल्लो समय कोरोना भाइरसको प्रकोपले विश्वका करोडौँ मानिसको दैनिकी नाटकीय रूपमा बन्द कोठाभित्र सीमित हुन थालेको छ । विश्वभरमा मानिस जुन रहनसहन र खानपानमा बस्दै र रमाउँदै आएका थिए, त्यसमा आकाश–जमिनको अन्तर आएको छ । करोडौँ बालबालिका विद्यालय जान पाएका छैनन् । उद्योगधन्धा बन्द छन् । मजदुरले तलब नपाउँदा रोगले भन्दा भोकले मर्ने अवस्था बढ्दो छ । महामारीको यो चक्रीय प्रणाली अगाडि बढिरहँदा नेपालमा भने सरकार आँखा चिम्म गरेर बसेको आभास हुन्छ, ऊ मात्र जान्दछ लकडाउन, अनि लुजडाउन र फेरि लकडाउन ।
यहाँ त लाजमर्दो कुरो केसम्म भइसक्यो भने नेपालमा दाताले विभिन्न कम्पनीका झन्डै ९० लाख डोज खोप दिइसकेका छन्, तर सरकार यति धेरै निकम्मा भइसकेको छ कि त्यसकै कारण लगभग २१ लाख मानिसले खोप लाउन पाएका छन् भने बाँकी खोप त्यसै फ्रिज भएर सरकारको ढुकुटीमा खेर गइरहेको छ । सरकारकोे खोप वितरण प्रणाली यति नराम्रोसँग छताछुल्ल भयो कि मानौँ, अब त्यो जोसँग छ, उसले नै आफूखुशी पैसा लिँदै बेच्दै गर्ला कि भन्ने आशङ्का पनि उब्जन थालेको भान हुन्छ । एकातिर सरकारको ढुकुटीमा खोप भण्डारण हुँदै अब त्यो ‘आउटडेटेड‘ हुने क्रममा छ भने आममानिसमा कहिले खोप लाउँला र बाचौँला भन्ने झिनो आशा भने मेटिएको छैन । खोपका लागि घण्टौँ लामो लाइन यत्रतत्र देखिन्छ । आफ्नो पालो आयो खोप सकियो भन्ने उर्दी आउँछ, जसले गर्दा मानिसमा सरकारप्रति नै विश्वास घट्दो छ ।
सरकारकोे खोप वितरण प्रणाली यति नराम्रोसँग छताछुल्ल भयो कि मानौँ, अब त्यो जोसँग छ, उसले नै आफूखुशी पैसा लिँदै बेच्दै गर्ला कि भन्ने आशङ्का पनि उब्जन थालेको भान हुन्छ ।
कोभिडलाई लिएर अब त के पनि भन्न थालिएको छ भने महामारीको यो शृङ्खला छैटौँ भेरियन्टसम्म जान्छ† २०२३ सम्म नै यस्तै हुनेवाला छ । यो वास्तविकता वा अफवाह मात्रै हो, त्यो सम्बन्धित निकायले पत्ता लगाउनुपर्छ । यदि वास्तविकता नै हो भने अब आममानिसको रोजगारी, बालबालिकाको शिक्षा एवम् भविष्यका लागि निच मारेर बस्ने बेला छैन; किनकि, रोग र भोक सँगसँगै आउने र जाने प्रक्रिया हुन् । यिनलाई गफले टार्न सकिँदैन र तत्काल राज्यव्यवस्थाले समाधानको उपाय पत्ता लगाउनैपर्छ ।
खोपको विकल्प रोग प्रतिरोधी क्षमताको विकास
अब खोप, खोप मात्रै भनेर पनि हुँदैन; किनकि, हामीले जुन खोप लगाइरहेका छौँ, त्यो कति विश्वसनीय छ/छैन भन्ने स्पष्टता पनि हामीसँग छैन, न त छ खोप उत्पादन गर्ने कम्पनीसँग नै । फेरि दाताले दिएको खोपले कतिलाई पुग्छ ? राज्यसंयन्त्रले आफैँ खोप खरिद गर्ने भन्ने कुरा पनि कल्पनाभन्दा बाहिरकै विषय हो । तसर्थ अब खोपको विकल्पमा जानुपर्ने टड्कारो आवश्यकता छ । त्यो भनेको योग र साधना नै हो ।
नेपाली जडिबुटी विश्वमै नामी र दामी छन् । तिनमा आवश्यक अध्ययन हुन सक्यो र महामारीमा लाभकारी हुने जडिबुटीजन्य आयुर्वेद औषधिको खोजी भयो भने पनि केही हदसम्म लाभ नै हुने छ ।
नेपाली जडिबुटी विश्वमै नामी र दामी छन् । तिनमा आवश्यक अध्ययन हुन सक्यो र महामारीमा लाभकारी हुने जडिबुटीजन्य आयुर्वेद औषधिको खोजी भयो भने पनि केही हदसम्म लाभ नै हुने छ । दिमागमा सकारात्मक सोचको विकास गर्ने, दैनिक रूपले कम्तीमा एक घण्टा योगाभ्यास गर्ने गर्दा शरीरमा रोगप्रतिरोधी क्षमताको विकास गर्न सकिन्छ । हिजो एलोप्याथी औषधी नहुँदा पनि हाम्रा पुर्खाले आफूसँग भएका जडिवुटी खाएर रोग निको पारेको इतिहास कहिँ छिपेको छैन । अहिले त योगका थुप्रै गुरुहरू हुनुहुन्छ, यदि त्यो सम्भव नभएमा हामी आफैँ पनि योगका लागि अभ्यास गराउन तयार छौँ । अब कोभिडको महामारीरूपी फोबियालाई निर्मलीकरण गर्न आवश्यक भइसकेको छ ।
बालबालिकाका लागि घरभन्दा विद्यालय नै सुरक्षित
कलिला बालबालिका १६ महिनादेखि घरमै बस्दा तिनको मनमस्तिष्कमा के कस्तो असर परिरहेको छ ? त्यसतर्फ कोही कसैको ध्यान पुगेको देखिँदैन । सरकारले विद्यालय असुरक्षित भन्दै बालबालिकालाई घरमै बस्ने र विद्यालय बन्द गर्ने घोषणा त ग¥यो, तर तिनका बाबुआमा कामकाजी हुन्छन् । घरबाहिर नगई व्यवहार चल्दैन । उनीहरू बिहान बाहिर जाने र बेलुकी घर आउँदा कति सङ्क्रमित हुन्छन् र त्यो असर आफ्ना नानीमा पर्छ कि पर्दैन भन्नेतर्फ न त राज्यले सोच्यो, न कोही शिक्षाविद् वा सरोकारवालाले नै । यहाँ त के भनियो भने विद्यालयहरू कोभिडका लागि ‘हटस्पट‘ बने भन्दै सुझ न बुझसँग सञ्चार माध्यमले समाचार बनाए, सरकार त्यसकै पछि लाग्यो र अन्ततः विद्यालयलाई बन्द गराइछोेड्यो । त्यसको असर साना नानी एउटा वा दुई वटा कोठामा बस्न बाध्य भए ।
अर्को दुखलाग्दो कुरो के भयो भने सरकारले वैकल्पिक सिकाइ भन्दै अनलाइन शिक्षा भन्यो । तर त्यसले कलिला नानीलाई के कति लाभ गर्यो वा असर गर्यो भनेर आजसम्म कुनै अनुसन्धान भएको छैन । सबै अभिभावकले आफ्ना नानीलाई समय दिन पनि सक्दैनन्, दिए पनि कतिले आफ्ना नानीको सिकाइप्रति आवश्यक ध्यान दिन नसकेको पनि हुन्छ ।
तत्काल सरकारले विद्यालय शिक्षालाई भौतिक रूपमा उपस्थिति जनाएर भए पनि विद्यार्थीहरू स्कुल जान पाउने वातावरण बनाउनुपर्छ । यो अहिलेको आवश्यकता हो ।
नयाँ प्रविधिको असर कलिला बालबालिकालाई कति पर्छ भन्ने यकिन त कसले पो गर्न सकेको छ र ? त्यसर्थ यो अहिलेको यथार्थता हो, तत्काल सरकारले विद्यालय शिक्षालाई भौतिक रूपमा उपस्थिति जनाएर भए पनि विद्यार्थीहरू स्कुल जान पाउने वातावरण बनाउनुपर्छ । यो अहिलेको आवश्यकता हो । तथापि विद्यार्थीको भौतिक उपस्थितिलाई के कसरी सुरक्षित बनाउने हो भन्ने विषयमा आम अभिभावक, विद्यालय व्यवस्थापक र सरकारले आवश्यक गृहकार्य भने गर्नुपर्छ ।
लकडाउनको हल्लाले आशभन्दा त्रास बढी
अहिले त हामीकहाँ कस्तो भयो भने राम्रोेभन्दा नराम्रो र जिम्मेवारीभन्दा पनि होहल्ला गरेर मानिसलाई दिग्भ्रमित गराउने खेल बढ्न थाल्यो । संसार बिगार्ने औषधि र हतियारको व्यापार नै हो । यस विषयमा हामी के कति गम्भीर वा जिम्मेवार छौँ ? त्यसतर्फ पनि अब सोच्ने बेला भइसकेको छ । हुन त यो अवस्था सबै क्षेत्रमा व्याप्त छ । फेरि पनि लकडाउनकै हल्ला छ । जब जब लकडाउनको हल्ला हुन्छ, मानिसमा आशभन्दा त्रास बढ्न थाल्छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ का कारणभन्दा अरू रोगले मर्नेको सङ्ख्या धेरै गुणा बढ्दो छ ।
मानिसहरू पनि सरकारले लकडाउन गर्छ, दुईचार दिन चुप लाग्छन्, फेरि आफ्नो पुरानै पारामा फर्कन थाल्छन् । हुन पनि उनीहरूसँग अरू उपाय हुँदैन ।
मानिसमा डिप्रेसन व्याप्त छ । सकारात्मक सोच हराउँदा मानिस रोगी बन्न विवस भयो । महामारीलाई न्यूनीकरण गर्ने अनेकन् उपाय हुँदाहुँदै सरकार लकडाउनकै सहारा लिन बाध्य छ । मानिसहरू पनि सरकारले लकडाउन गर्छ, दुईचार दिन चुप लाग्छन्, फेरि आफ्नो पुरानै पारामा फर्कन थाल्छन् । हुन पनि उनीहरूसँग अरू उपाय हुँदैन ।
विश्वका विकसित देशमा पनि कोभिड छ, तर तिनले कोभिडको महामारीलाई न्यूनीकरण गर्दै सामान्य जीवनयापन गर्दै आएको पाइन्छ । केही दिनअघि मात्रै जापानमा त्यत्रा विकास र निर्माणका काम भएको देखियो । अमेरिकामा कोभिड विरुद्ध दुबै डोज भ्याक्सिन लगाएकाले मास्क लगाउनुनपर्ने कुरा आएको छ । चीनमा पनि कोभिड महामारीलाई लगभग न्यूनीकरण गर्ने क्रम बढ्दो छ । यो सबै लकडाउनसँगै चालिएका वैकल्पिक उपाय सशक्त भएर नै हो । तर हामीकहाँ लकडाउन भनियो; सारा कर्मचारीलाई विदामा बसाइयो; सङ्क्रमण न्यूनीकरण गर्नेतर्फ केही काम गरिएन† फलस्वरूप सरकार लकडाउनको शुङ्खला मात्रै बढाइरहने, सङ्क्रमण दर नघट्ने भयो । तसर्थ यस कुरामा राज्यव्यवस्था अत्यन्तै चनाखो भएर अगाडि नबढे लकडाउन र त्यसबाट सिर्जित हुने समस्याले भयावह रूप लिने छ र अन्ततः नेपाल फेलियर स्टेटमा रूपान्तरण हुने छ ।
(लेखिका मन्टेस्वरी एसोसिएसन नेपालकी अध्यक्ष एवम् मन्टेस्वरी चेन अफ स्कुलकी प्रिन्सिपल हुनुहुन्छ)