काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका तीन नेतालाई पार्टीबाट निष्काशन गरेको छ ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेलाई पार्टीबाट निष्काशन गरिएको जसपाले जनाएको छ ।
महन्थ ठाकुर पक्षमा लागेका उनीहरूलाई यसअघि नै पार्टीले स्पष्टीकरण सोधेको थियो । पार्टीलाई जवाफ नदिएका कारण पार्टीको विधानअनुसार उनीहरुलाई निष्काशन गरिएको एक नेताले बताए ।
यस्तै, मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले संसदीय दलको विधान अनुमोदन गर्नुका साथै संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिमा नवराज सुवेदी, रमेश यादव र सुशीला श्रेष्ठ छन् ।
सोमबार मात्र निर्वाचन आयोगबाट उपेन्द्र यादव पक्षले जसपाको आधिकारिकता प्राप्त गरेको छ । यादव पक्षले आधिकारिकता पाएपछि महन्थ ठाकुर पक्षीय नेता तथा सांसद या त यादवको निर्णयमा सहमत हुनुपर्ने नभए पार्टीले गर्ने कारबाही सहनुपर्ने अवस्थामा छन् ।