पोखरा । गण्डकी प्रदेश मन्त्रिमण्डलमा थप छ जना मन्त्री थपिएका छन् । उनीहरूलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले साउन ८ गते नै सपथ गराएकी हुन् ।
सपथ लिने मन्त्रीहरूमा नेपाली काङ्ग्रेसका विन्दुकुमार थापा (आन्तरिक मामिला तथा कानुनमन्त्री), कुमार खड्का (भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री) र मेषलाल श्रेष्ठ (शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री) रहेका छन् भने मणिभद्र शर्माले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको शपथ लिएका छन् ।
त्यस्तै, नेकपा (माओवादी–केन्द्र) का रामजी बरालले अर्थ, दीपक घर्तीमगरले वन, वातावरण तथा भू संरक्षण र चन्द्रबहादुर बुढाले भूमिव्यव्स्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिएका छन् ।
यता, आफूहरूसँग भएको सहमति उल्लङ्घन भएको भन्दै जनता–समाजवादी पार्टीले नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम बहिस्कार गरेको छ ।
गण्डकी प्रदेश मन्त्रिमण्डलमा यसअघि सामाजिक विकासमन्त्री कुमार खड्का, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे), स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधुमाया अधिकारी र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री हरिशरण आचार्यले शपथ लिइसकेका थिए ।
