काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पछिल्ला केही दिनयता राजनीतिक भेटघाटलाई तीव्र पार्नुभएको छ । त्यस क्रममा २०७८ साउन ५ गते पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसित भेट भएको छ ।
पछिल्ला एक साताभित्र चन्दले नेकपा (माओवादी–केन्द्र) का अध्यक्ष पुष्पकलम दाहाल, नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल, जनता–समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी–माओवादी) का महासचिव मोहन वैद्य, पूर्व माओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा र प्रभु साह, एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।
ती भेटवार्ता सरकार र विप्लब नेतृत्वको नेकपाबिच २०७७ फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्वयनको अवस्था र वर्तमान राजनीतिक परिस्थितिका बारेमा केन्द्रित रहेको बताइएको छ । विशेषतः प्रचण्डसँगको भेटमा चन्दले ओली नेतृत्वको सरकारसँग भएका सहमति शेरबहादुर देउवा नेतृत्वको सरकारले कुन ढङ्गले ग्रहण गर्छ भन्ने विषयमा कुराकानी गर्नुभएको बुझिएको छ ।
नेकपाका नेता धर्मेन्द्र बास्तोलाका अनुसार मुख्यतः दुई बुँदामा केन्द्रित रहेर राजनीतिक भेटवार्ता भएको बताउनु हुन्छ । सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन र वर्तमान राजनीतिक जटिलताको निकासका बारेमा महासचिव चन्दले छलफल गरेको उहाँको भनाइ छ ।
नेकपाले सरकारसँग प्रगतिशील संयुक्त सरकार, जनमत सङ्ग्रह र वैज्ञानिक समाजवाद निर्माणका लागि बहस र छलफल चलाउने तीनबुँदे सहमति गरेको दावी गरेको छ ।
यता, सरकारसँग भएको सहमतिअनुसार पक्राउ परेका कार्यकर्ता रिहा नभएको भन्दै नेकपाले सहमतिको कार्यान्वयनमा आशङ्का व्यक्त गर्दै आएको छ । अझै पनि नेकपाका १२० भन्दा बढी हाम्रा कार्यकर्ता कारागारमा रहेकाले उनीहरूको रिहाइमा भएको ढिलाइ विषयमा पनि भेटमा छलफल भएको बताइएको छ ।