काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकता प्रस्ताव लगेर आफूले गम्भीर गल्ती गरेको बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा आइतवार संसदमा बोल्दै प्रचण्डले यस्तो हुन्छ भनेर थाह पाएको भए पार्टी एकता नै नगर्ने बताउनुभयो ।
‘यस्तो दुर्दशा हुने थाहा भएको भए म किन पार्टी एकताको प्रस्ताव लान्थेँ होला’ दाहालले भन्नुभयो, ‘भिन्न मतलाई स्वीकार्न सक्ने आँट कोसँग छ भन्ने पनि अहिले देखाएको छ। ओलीजीको गतिविधिले नैतिकता र संस्कारको प्रश्न पनि जन्माएको छ ।’
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुनःस्थापित संसदको पहिलो दिनको बैठकमा अनुपस्थित भएकोबारेमा पनि प्रचण्डले प्रश्न उठाउनु भयो। दाहालले आजको संसद बैठकमा ओलीको उपस्थितबारे आफूले पटक पटक चासो राखेको बताउनुभयो ।
‘हाम्रो प्रमुख सचेतकलाई सोधेँ, ओलीबारे तीन पटक सोधेँ। प्रमुख सचेतकले आउनुहुन्छ उहाँले नै बोल्नु हुन्छ भनेका थिए’ उहाँले भन्नुभयो, ‘पुनःस्थापित संसदको पहिलो बैठकमा पूर्वप्रधानमन्त्रीको हैसियतमा केपीजीको मुखबाट आफ्ना कुरा सुन्न चाहेको थिएँ। निवर्तमान प्रधानमन्त्री के भन्लान् भन्ने संसदले सुन्न चाहेको थियो। तर उहाँ बिरामी भएर हो कि नआउँदा अस्वभाविक लाग्यो ।’
उहाँले सर्वोच्च अदालतको आदेश प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई लिएर राष्ट्रपतिको कार्यालयमा पनि अस्वभाविक घटना भएको टिप्पणी गर्नुभयो ।
‘राष्ट्रपतिको कार्यालयले पनि अस्वभाविक घटना देखायो। त्यहाँ विज्ञप्तिका अस्वभाविक शब्दले सपथग्रहण नै रोकिएको थियो’ उहाँले भन्नुभयो, ‘आउने र जाने प्रधानमन्त्री साइड बाइ साइड कुर्सीमा बस्ने हुन्थ्यो। सपथग्रहणपछि कुर्सी साटिन्थ्यो। तर निवर्तमान प्रधानमन्त्री त्यहाँ उपस्थित नै भएनन्।’
प्रचण्डले भिन्न मतलाई स्वीकार्न सक्ने आँट ओलीसँग नभएको टिप्पणी गर्नुभयो । ‘भिन्न मतलाई स्वीकार्ने आँट कोसँग छ भन्ने पनि त्यसले देखाएको छ’ उहाँले भन्नुभयो, ‘नैतिकता र संस्कारको प्रश्न पनि जन्माएको छ ।’
एमालेको निर्दलीयता फर्कियो भन्नु गोहीको आँसु चुहाएको जस्तो मात्रै भएको प्रचण्डले बताउनुभयो । प्रचण्डले ७६(५) प्रणाली भत्काउँछ भन्ने एमालेलाई लागेको भए संविधान संशोधन प्रस्ताव ल्याउन सुझाव दिनुभयो ।
‘७६ (५) ले प्रणाली भत्काउँछ भन्ने एमालेलाई लाग्छ भने निर्दलीय भयो भन्न लाग्ने भए संविधान संशोधन प्रस्ताव ल्याउनु होस्’ प्रचण्डले भन्नुभयो, ‘संविधानसभासभामा कसैले विरोध गरेको होइन ।’
अदालतले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरेको जिकिर प्रचण्डको थियो । अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेको नभै संविधानको धारा ७६ (५)को व्याख्या मात्रै गरेको हो’ प्रचण्डको भनाइ थियो ।
‘सांसदलाई दिएको स्वविवेकीय अधिकार संसदलाई अकाल मृत्युबाट जोगाउन यो प्रावधान राखिएको हो। सबै ठाउँमा ह्वीप नलाग्ने भनिएको छैन,’ उहाँले भन्नुभयो, ‘संविधानको अधिकार प्रयोग गर्ने पार्टीहरू चाहिँ निर्दलीयताको पक्षधर र अनि संविधान र व्यवस्था नै कुण्ठित गर्ने पार्टी चाहिँ दलीयताको पक्षधर हुनसक्छ?