काठमाडौं । जनता समाजवादी पार्टी नेपालको आन्तरिक विवादबारे इजलासको सुनुवाई हेर्दाहेर्दैमा सकिएको छ । आइतवार बिहान ११ बजेदेखि प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलियाको नेतृत्वमा शुरु भएको इजलास सक्कली प्रमाण झिकेपछि मात्रै अन्य कुरा अघि बढ्ने सहमतिमा सकिएको हो ।
जवाफ प्रश्तुत गर्ने क्रममा बेन्चबाट अवरोध भएको र सक्कली प्रमाण झिकेपछि मात्रै अन्य कुरा अघि बढ्ने जसपाका नेता केशव झाले बताउनुभयो । इजलासमा निवेदक पक्षको कानून व्यवसायी र जवाफ प्रश्तुत कर्ता पक्षले २ घण्टासम्म आ आफ्ना तर्क राखेका थिए ।
इजलासमा पुनर्गठित कमिटीले विधिसम्मत तरिकाबाट निर्वाचन आयोगमा दर्ता भएको छ, यसै आधारमा प्रक्रिया अघि बढ्छ भनेको छ, नेता झाले भन्नुभयो, पुरानो कमिटीले हेडकाउण्टको माग राखेको छ ।
यस विषयमा निर्वाचन आयोगको इजलासले सक्कली प्रमाण झिकाएर दुवै पक्षलाई खबर गरेपछि मात्रै पुनः बहस शुरु हुने र निष्कर्षमा पुग्ने नेता झाको भनाइ छ ।
जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्ष दुवैले आधिकारीकता दाबी गरेका छन् । यसैबीच आइतबार सुरु भएको संसद बैठकमा जसपा विभाजित रुपमा बसेको छ । उपेन्द्र यादव पक्ष सत्तापक्षको बेन्चमा बसेको छ भने महन्थ ठाकुर समूह प्रतिपक्षीको बेन्चमा बसेको छ ।