पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा विपक्षी नेकपा (एमाले) का सांसदले उदण्डता देखाएका छन् । बुधबार प्रदेश सभा बैठक बहिष्कार गर्ने क्रममा एमाले सांसदले टेबुल उठाएर फालेका छन् ।
संसद अवरोध गरिरहँदा र नाराबाजीमा उत्रिएको बेला पूर्वमन्त्री तथा एमाले सांसद रामशरण बस्नेतले मन्त्रीको टेबुल नै उचालेर फालेको भिडिओ सार्वजनिक भएको छ ।
सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु भएको घोषणा गर्नासाथ विपक्षी सांसदहरु नाराबाजीमा उत्रिएका थिए । विपक्षीको नाराबाजीकै बीच अर्थमन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विधेयक प्रस्तुत गर्नुभयो ।
अवरोधबीच केही बेर स्थगित भएको बैठक पुनः बसेको थियो । प्रमुख प्रतिपक्षको अवरोध र बहिष्कारका बीच बजेट भने बहुमतले पारित भएको छ ।
एमालेले प्रदेशसभाको बैठक लगातार अवरोध गरेपछि मार्सल लगाएर आज बजेट पारित गरिएको हो । बैठक सुरु हुनासाथ नेकपा एमालेका प्रदेशसभा सदस्यले बेल घेराउ गरेपछि मार्सल लगाइएको थियो ।
केही समय मर्यादापालक र प्रतिपक्षका सदस्यबीच धकेलाधकेल भएको थियो । आफ्नो सरकारको पालामा ल्याएका विभिन्न योजनाको बजेट कटौती भएको भन्दै एमालेले विरोध जनाएको हो ।
यसैबीच एमालेले टेबुल फालेको नभइ मिलाएको दाबी गरेको छ । एमाले संसदीय दलले गरेको पत्रकार सम्मेलनमार्फत बस्नेतले आफूले टेबल फालेको नभई राखेको स्पष्टोक्ति दिनुभयो ।
आक्रोशित देखिएका बस्नेतको प्रश्न थियो ‘त्यहाँ टेबल फालेको देखिन्छ कि राखेको देखिन्छ ?’ यस्तै, एमाले संसदीय दलका नेता मायानाथ अधिकारीले हान्नै खोजेको भए एमाले कमजोर नरहेको बताउनुभयो ।