काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलनरत पाँच विद्यार्थी संगठनले देशभरका पेट्रोल पम्प र ढुवानीका साधन बन्द गराएका छन् । अखिल (छैठौं) सहित पाँच विद्यार्थी संगठनले पूर्वघोषणाअनुरूप बुधबार बिहानैदेखि पेट्रोल पम्प तथा ढुवानीका ट्यांकर बन्द गराएका हुन् ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरूले आजदेखि देशभरका पेट्रोल पम्प र ढुवानीका साधन बन्द गर्ने हिजै (मंगलबार) घोषणा गरेका थिए । सोहीअनुसार उनीहरूले बिहानैदेखि पेट्रोल पम्प बन्द गर्न थालेका छन्।
यसअघि असार २४ गते विद्यार्थी संगठनले मूल वृद्धि फिर्ता लिन चेतावनीसहित नेपाल आयल निगमको ध्यानाकर्षण गराएका थिए ।
मंगलबार अखिल (छैठौंं) सहित नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनले संयुक्त विज्ञप्ति जारी गरी आन्दोलनको अवज्ञा गरिएमा त्यसबाट उत्पन्न सबै परिस्थितिको जिम्मेवारी व्यवसायीहरु र एसोसिएसन आफैँ हुने चेतावनी दिएका छन् ।