काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहरदबारबाट उहाँले अपराह्न २ बजे सम्बोधन गर्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि आजदेखि ओली पदमुक्त हुँदै हुनुहुन्छ । उहाँले आजै प्रधानमन्त्रीको सरकारी निवास पनि छाड्दै हुनुहुन्छ ।
विसं २०७४ फागुन ३ मा नियुक्त भएपछि नेकपा (एमाले) संसदीय दलका नेता ओली तीन वर्ष चार महिना प्रधानमन्त्रीमा रहनुभएको थियो ।
यस्तै प्रधानमन्त्रीले अपराह्न सम्बोधन गर्ने भएपछि एमाले स्थायी कमिटी बैठक पनि स्थगन गरिएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले आज अपराह्न १ बजे बोलाइएको बैठक स्थगन गरिएको जानकारी दिनुभयो ।