काठमाडौँ । उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मनसुनजन्य बिपत्का घटनाबाट पीडितको खोज तथा उद्धार र राहतका लागि राज्यका सबै संयन्त्रको समन्वयात्मक परिचालन गरिएको जानकारी दिनुभएको छ ।
राष्ट्रियसभाको आइतबारको बैठकमा गृहमन्त्री पौडेलले मनसुनजन्य बिपत्का घटनाको क्षति, खोज, उद्धार, राहत एवम् पुनःस्थापनाका सम्बन्धमा सार्वजनिक महत्त्वको वक्तव्य दिँदै खोज तथा उद्धारका लागि जोखिम सम्भावित क्षेत्र नजिकका सुरक्षा एकाइमा सुरक्षाकर्मीलाई तैनाथ गरिएको बताउनुभयो ।
पहिराको जोखिम संवेदनशीलतासमेतका आधारमा सडक विभागअन्तर्गत विभिन्न स्थानमा आवश्यक उपकरण र जनशक्ति तैनाथ गरिएको उहाँले जानकारी गराउनुभयो ।
उपप्रधानमन्त्रीले भन्नुभयो– ‘राजमार्ग अवरुद्ध हुनासाथ पहिरो हटाई यातायात सञ्चालन गर्ने प्रयास जारी राखिएको छ । कतिपय राजमार्गमा आएको अवरोध हटाई एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ ।’
उहाँका अनुसार ठुलो क्षति भएका कारण बेसीसहर–मनाङ सडक, अरनिको राजमार्ग, बाजुराको मार्तडी–कोल्टी सडक र कुलेखानी–हेटौँडा सडकका विभिन्न स्थानमा अवरुद्ध सडक सञ्चालन गर्ने प्रयास जारी छ । सेती दोभानलगायत मुग्लिङ–नारायणघाट खण्डका विभिन्न स्थानमा झरेको पहिरो हटाई यातायात सञ्चालन गर्ने प्रयास निरन्तर जारी छ ।
यस वर्ष मनसुन सुरू भएयता जेठ ३१ गतेदेखि आजसम्म देशका विभिन्न जिल्लामा मनसुनजन्य बिपत्का २२६ घटना भएको तथा सिन्धुपाल्चोक, बाजुरा, गोरखा, तनहुँ, धादिङ, चितवन, डोटीलगायत २२ जिल्लामा ३९ जनाको मृत्यु, ३१ बेपत्ता र ४६ जना घाइते भएको सरकारले जनाएको छ ।
‘मनसुनजन्य बिपत्बाट अतिप्रभावित सिन्धुपाल्चोक, मनाङलगायत आठ जिल्लामा ८३४ थान टेन्ट, दुई हजार ५६ थान त्रिपाल, १९४ थान स्लिपिङ ब्यागलगायतका राहत सामग्री मन्त्रालयको समन्वयमा जिल्ला बिपत् व्यवस्थापन समितिलाई उपलब्ध गराई प्रभावित परिवारलाई वितरण गरिएको छ’ उहाँले भन्नुभयो ।
त्यसैगरी जिल्ला बिपत् व्यवस्थापन समितिले स्थानीय तह र अन्य सङ्घसंस्थासँग समन्वय गरी प्रभावितलाई राहतको प्रबन्ध गरिरहेको उहाँले जानकारी गराउनुभयो ।
बागमतीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीको नेपालगञ्ज, कर्णालीको सुर्खेत र सुदूर पश्चिम प्रदेशको धनगढीमा रहेका मानवीय सहायता स्थलमा खोज, उद्धार र राहतका सामग्री भण्डारण गरिएको छ ।
त्यस्तै, प्रदेश नं. १ को इनरुवा, बागमतीको हेटाँैडा, गण्डकीको पोखरा र लुम्बिनीको बुटवलमा रहेका प्रादेशिक बिपत् गोदामघरमा समेत राहत सामग्री भण्डारण गरिएको उहाँले बताउनुभयो ।
गत वर्ष मनसुनबाट क्षति भएका विभिन्न जिल्लाका तीन हजार ९४९ लाभग्राही परिवारलाई पहिलो किस्ताबापत प्रतिपरिवार रु. ५० हजारका दरले रु. १९ करोड ९७ लाख अनुदान प्रदान गरी पुनःनिर्माणको काम सुरु गरिएको उहाँले जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो– ‘यस वर्षको मनसुनजन्य बिपत्बाट यही असार १६ गतेसम्म विभिन्न जिल्लामा आंशिक तथा पूर्ण क्षति भएका ५७२ घरपरिवारलाई तत्काल अस्थायी बसोबासको व्यवस्थाका लागि प्रतिपरिवार रु. ५० हजारका दरले रु. दुई करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको छ ।‘ (रासस)