काबुल । अमेरिकी सेनाले प्रयोग गरिरहेको बघराम हवाइ मैदान झन्डै २० वर्षपछि अफगानिस्तान सरकारलाई हस्तान्तरण गरिएको छ ।
सन् २००१ मा अमेरिकामा आतङ्कवादी हमला भएपछि अफगानिस्तानको तालिबान सरकार ढाल्न एवम् आतङ्कवादी सङ्गठन अलकायदाको संरचना ध्वस्त बनाउन अमेरिकाले बघराम विमानस्थल प्रयोग गरेको थियो ।
दुई अमेरिकी सैनिक अधिकारीले उक्त विमानस्थल अफगानिस्तानको सेनालाई हस्तान्तरण गरिएको बताएका छन् ।
बघराम हवाइ मैदान हस्तान्तरण गरेसँगै अफगानिस्तानबाट अमेरिकी सेना अब पूर्ण रूपले स्वदेश फर्कन्छ भन्ने आभास भएको छ । हवाइ मैदान नै हस्तान्तरण गरेकाले अफगानिस्तानमा पछिल्लो समय तैनाथ २५०० देखि ३००० अमेरिकी सेनाले पनि अफगानिस्तान छाडिसकेको अनुमान गरिएको छ ।
राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ अघि नै अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता भइसक्ने बताए पनि त्योभन्दा अघि नै अमेरिकी सेना फिर्ता भएका छन् । साथै नेटोआबद्ध झन्डै सात हजार सैनिक पनि यही जुलाई ४ भित्रै स्वदेश फर्काउने गरी तयारी भइरहेको छ ।
अधिकांश नेटो सैनिक यसै साता बिनाकुनै घोषणाका साथ अफगानिस्तान छाड्दै छन् । एपीको विश्लेषणमा धेरैजसो युरोपेली मुलुकका सैनिकले साना समारोह गरी अफगानिस्तान छाडिसकेको देखिएको छ ।
संयुक्त राज्य अमेरिकाले सुरक्षाको कारण देखाउँदै अन्तिम अमेरिकी सैनिक कहिले फिर्ता भइसक्छन् भनेर केही बताएको छैन ।
काबुलस्थित हमिद कार्जाई अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका कारण पनि अमेरिकाले अन्तिम सैनिकको बिदाइको घोषणा नगरेको हो । टर्की र अमेरिकी सेनाले यस विमानस्थलको सुरक्षा गरिरहेका छन् ।
अमेरिकाले राजधानी काबुलस्थित अमेरिकी राजदूतावासको सुरक्षाका लागि ६०० जना सैनिक राख्ने बताएको छ ।
एक पटक २०१२ मा बघराम हवाइ मैदानमा एक लाखभन्दा बढी सैनिकको उपस्थिति थियो । राजधानी काबुलबाट करिब एक घण्टाको मोटर यात्राबाट बघराम पुग्न सकिन्छ ।
यो दोस्रो पटक हो, अफगानिस्तानमा हस्तक्षेप गर्न एवम् स्वदेश फिर्ता हुन बघरामको प्रयोग भएको छ ।
१९५० को दशकमा तत्कालीन सोभियत युनियनले यो सैनिक विमानस्थल बनाएको थियो । १९७९ मा अफगानिस्तानमा आक्रमण गर्दा रुसले यही विमानस्थलको प्रयोग गरेको थियो ।
२००१ मा अमेरिकी र नेटो फौजले पनि यही विमानस्थललाई प्रयोगमा ल्याएका थिए । यो विशाल हवाइ मैदानमा दुई वटा रनवे छन् । पछिल्लो पटक बनाइएको रनवे १२ हजार फिट लामो छ । यो २००६ मा ९ करोड ६० लाख डलरमा बनाइएको हो ।
बघराम हवाइ अखडा अमेरिकी र नेटो फौजले परित्याग गरेको बारेमा अफगान सरकारले पनि केही बताएको छैन । (रासस–एपी)





