काठमाडौं । नेकपा (मसाल) ले प्रधानमन्त्री केपी शर्मा ओलीले एकातिर प्रतिगमन र अर्कोतिर राष्ट्रघात गर्दै गएको ठहर गरेको छ । अध्यादेशद्वारा नागरिकता ऐन ल्याउनु र तराई मधेशलाई टुक्राउन चाहने मधेशवादी दललाई सरकारमा सामेल गर्न तयारी गर्नुले ओलीको राष्ट्रघाती चरित्र उदाङगो भएको मसालको आरोप छ ।
यस्तै, भारतले नेपाललाई हिन्दुराष्ट्र कायम गर्न गरिरहेको प्रयासलाई ओलीले मलजल गरेको मसालले बताएको छ । पशुपतिनाथमा ओलीले गरेको पुजा नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतीय साम्राज्यवादले गरेको जोडबलकै उपज भएको मसालको ठहर छ ।
बुधबार महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वक्तव्यको बुँदा नं ४ मा भनिएको छ, ‘ओलीले एक पछि अर्को गर्दै भारतपरस्त नीति अपनाउँदै गइरहेका छन् । केही दिन पहिले मात्र उनले अध्यादेशद्वारा नागरिकता विधेयक सार्वजनिक गरे । स्पष्ट छ कि त्यो राष्ट्रघाती प्रकारको विधेयक हो । उनले टिकापुर हत्याकाण्डको मुद्दालाई फिर्ता लिन पनि सहमति गरिसकेका छन् । उनले स्वयम् आफ्नो पहिलेको अडानका विरुद्ध संविधानमा राष्ट्रघाती प्रकारको संशोधन गर्नका लागि पनि पहल गरिसकेका छन् ।’
वक्तव्यमा अगाडि भनिएको छ, ‘उनले नेपालको राष्ट्रियता, तराईको विखण्डन र संविधान समेतबारे राष्ट्रघाती विचार राख्ने मधेशवादी संगठनहरूलाई सरकारमा लैजानको लागि पनि तयारी गरिरहेका छन् । त्यसरी ओलीले खुला प्रकारले नै भारतीय साम्राज्यवादको पक्ष लिने र एक पछि अर्को गर्दै भारतपरस्त नीति अपनाउँदै गइरहेका छन् ।’
नेपाललाई हिन्दुराष्ट्र बनाउन चाहने देशभित्रकै राजावादी शक्ति र भारतीय साम्रज्यवादीसँग ओलीको साँठगाँठ रहेको मसालको बुझाई छ ।
‘भारतीय साम्राज्यवादको जोड नेपाललाई हिन्दु राष्ट्र बनाउने तर्फ रहँदै आएको छ । उनको पशुपतिनाथको पूजाले पनि उनले भारतका कट्टर हिन्दुवादी शासकवर्गको नेपाललाई हिन्दु राष्ट्र बनाउने लाइनलाई अपनाउन थालेको देखिन्छ’ वक्तव्यमा भनिएको छ, ‘नेपालका राजावादीहरूसित पनि उनको साँठगाँठ बढ्दै गएको देखिन्छ । त्यसरी ओलीको नीति एकातिर प्रतिगमन र अर्कातिर राष्ट्रघाततिर गएको कुरा झन्झन् खुला रूपमा बाहिर आइरहेको छ ।’
वक्तव्यमो पूर्णपाठ यहाँ : मध्यावधी निर्वाचनको बन्दुक ओलीका लागि उल्टो पड्कन सक्छ : मसाल