बुटवल । रुपन्देहीमा क्रियाशील नौ राजनीतिक दलहरूले समसामयिक विषयमा नौ बुँदे धारणा सार्वजनिक गरेका छन् ।
नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–केन्द्र), राष्ट्रिय जागरण परिषद् र जनसमाजवादी पार्टीका प्रतिनिधिहरूले २०७८ जेठ १६ गते संयुक्त वक्तव्य प्रसारित गर्दै आफ्ना धारणा सार्वजनिक गरिएको हो ।
संयुक्त वक्तव्यको पूर्ण पाठ यस्तो छ–
“२०७८ जेठ १५ गतेका दिन नेपालका २२ राजनैतिक दलमध्य रूपन्देही जिल्लामा क्रियाशील तपसिलका राजनैतिक पार्टीहरूको बैठक बसी गरेका निर्णयहरू वक्तव्यमार्फत सार्वजनिक गरिएको छ ।
आज देश गम्भीर सङ्कटबाट गुर्जिरहेको छ । कोभिडको दोस्रो लहर निकै सङ्क्रामक, भयावह र बढी घातक देखिएको छ । मृत्यु हुनेको सङ्ख्या पनि डरलाग्दो छ । राजनैतिक, आर्थिक, सामाजिक क्षेत्र पनि तहसनहस बनेको छ । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहरले ठुलो सङ्ख्यामा मानवीय क्षति हुनुका साथै स्वास्थ्योपचार सामग्रीको अभावले देश आक्रान्त बनेका बेला त्यसको रोकथाम र जनताको सुरक्षा गर्ने विषयलाई उपेक्षा गरेर वर्तमान केपी ओली सरकारले आफ्नो पद र सत्तास्वार्थका लागि साम्राज्यवाद, विस्तारवादसँग सौदाबाजी गरेर, तानाशाही, फासिवादी र स्वेच्छाचारी कदम चाल्दै संसदको विघटन, अध्यादेशमार्फत नागरिकता विधेयक जारी गरेर अगाडि बढेको छ, जसले सीमित रूपमा जनताले प्राप्त गरेका अधिकारसमेत गुम्ने स्थिति उत्पन्न हुन गएकाले†
१. राष्ट्रिय स्वाधीनताको रक्षा, प्रतिगमन, निरङ्कुशता र फासिवादका विरुद्ध सङ्घर्ष, कोभिड–१९ द्वारा सिर्जित समस्या, जनजीविका तथा राज्यको आडमा भएका अनियमितता, भ्रष्टाचार, बेथितिमाथि ध्यान दिदै जनदबाब र आन्दोलन निर्माण गर्नु आजको आवश्यकता बन्न गएको छ ।
२. प्रतिगमनको विरोध, राष्ट्रिय स्वाधीनताको रक्षा तथा जनजीविका र जनतन्त्रको पक्षमा एकताबद्ध हुँदै संयुक्त कार्यक्रम गर्न सहमत भएका छौँ ।
३. नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने उद्देश्यद्वारा गरिएको सीमा अतिक्रमण, कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्तालगायतका अतिक्रमित भूभाग फिर्ता गर्न, हिन्दप्रसान्त रणनीतिको आडमा अगाडि ल्याइएको एमसिसी र राष्ट्रघाती नागरिकता विधेयक खारेज गरी राष्ट्रिय स्वाधीनताको रक्षा गर्न जोड दिन्छौँ।
४. कोभिड–१९ ले पारेको प्रभावप्रति नेपाल सरकारले प्रभावकारी नीति, योजना र कार्यक्रम नबनाएकाले राजनैतिक पार्टी, स्वास्थ्यकर्मी तथा विभिन्न सङ्घसंस्थाको साझा संयन्त्र निर्माण गरी बिरामीको उपचार, लकडाउनले सबैभन्दा बढी मारमा परेका वर्ग, समुदाय मजदुर, किसान, निम्न व्यवसायी, उद्योगीलगायत क्षेत्रको अवस्था गम्भीर र नाजुक बन्न पुगेकाले तिनीहरूको हकहित र अधिकारको पक्षमा आवाज उठाउँदै निम्न आय भएका वर्गलाई कम्तीमा पनि तीन महिनाको राहत प्याकेज घोषणा गर्न माग गर्छौं ।
५. प्रधानमन्त्री केपी ओलीको प्रतिगामी निरङ्कुश, फासिवादी कदमलाई परास्त गर्दै जनताका जनअधिकार सुनिश्चित गर्न, जनजीविकाका समस्यालाई समाधान गर्न तथा अनियमितता, भ्रष्टाचार, बेरोजगारी, बेथिति, कालोबजारी तस्करी र महङ्गीका विरुद्ध सङ्घर्ष गर्न जोड दिँदै आम जनसमुदायलाई हामीहरू संयुक्त सङ्घर्षमा सहभागी हुन अनुरोध गर्दछौँ ।
६. सरकारले सत्ता लम्ब्याउने कुत्सित मनसायले अध्यादेशमार्फत नागरिकता विधेयक–२०७८ जारी गरेको छ । देशको कुनै पनि वास्तविक नेपालीले नागरिकताबाट बञ्चित हुनुनपरोस तर अनागरिकले नागरिकता नपाउन् भन्ने कुरामा हरेक नागरिक सचेत छन । विदेशी दबाबमा जारी लामो समयदेखि विवादमा रहेको विधेयक देशको हित विपरीत भएकाले अविलम्ब खरेज गरियोस् ।
७. सरकारले किसानलाई मल, बिउबिजन समयमा उपलब्ध गराउन नसक्दा किसानहरू अत्यन्त पीडित छन । अतः समयमै सर्वसुलभ तरिकले उपलब्ध गराउन माग गर्दछाँै ।
८. देशमा निषेधाज्ञाको अवस्था छ । सङ्क्रमणको साङ्लो चुडाउन भनी लगाएको निषेधाज्ञाले जनजीवन कष्टकर बन्दै गइरहेको छ । सम्पूर्ण क्षेत्रको आर्थिक अवस्था जर्जर भएको छ । यही मौका पारेर भ्रष्ट, दलाल, ठेकेदार, तस्करले प्राकृतिक साधनश्रोत तथा नदीजन्य पदार्थको अनियन्त्रित दोहन गरिरहेका छन् । नदीजन्य वस्तुको चोरीनिकासीमा स्थानीय जनप्रतिनिधि तथा कर्मचारीको समेत मिलोमतो रहेको भन्ने गुनासा आउने गरेकाले सत्य तथ्य पत्ता लगाई दोषीमाथि कडा कारबाही गरियोस् ।
९. नेपालगन्जको भेरी प्रादेशिक अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोडको घटनालार्ई हामीले निन्दा र भत्र्सना गर्दछौँ । स्पस्ट छ कि विश्वव्यापी कोरोना महामारी विरुद्धको सङ्घर्षमा चिकित्सक र स्वास्थ्यकर्मी नै अग्रमोर्चामा रहेका छन् । त्यसरी विश्वव्यापी महामारीको सामना गर्ने सन्दर्भमा अग्रमोर्चामा उभिएका चिकित्सक र स्वास्थ्यकर्मीप्रति उच्च सम्मान गरिनुपर्नेमा उल्टै कुटपिट र आक्रमण गर्नु घोर आपत्तिजनक कार्य हो । उक्त घटनाका दोषीलाई अविलम्ब कारबाही गर्न जोडदार माग गर्दछौँ ।
अन्तमा देशमा अमन चयन कायम गर्न जनताको सचेत प्रयत्नले मात्र सम्भव छ । जनताको अगाडि संसारका तानाशाह टिक्न सकेको इतिहास छैन । नेपालका प्रतिगामी पनि जनताको सङ्घर्षका अगडि झुक्न बाध्य हुने छन । आऊँ सबै मिली सङ्घर्षको आधीबेहरी सृजना गरौँ ।”