काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत पाँच राजनीतिक दलले आज (सोमबार) सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्दैछन् । हिजो (आइतबार) सांसदहरुको हस्ताक्षर संकलनमा अबेर भएपछि आज मुद्दा हाल्न लागिएको राष्ट्रिय जनमोर्चाका नेता कृष्ण अधिकारीले जानकारी दिनुभयो ।
हिजै अदालत जाने तयारी गरेका ५ दलले आफ्ना पक्षका १ सय ४९ जना सांसदको नागरिकतासमेत लिएर जाने निर्णय गरेकाले त्यो संकलन गर्न समय लागेपछि मुद्दा हाल्ने समय आजका लागि सारिएको हो । दर्ता गर्न लागिएको रिटमा प्रतिनिधि सभा पुनःस्थापनासँगै कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको दाबी सदर गर्दै प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानअनुसार यही जेठ ७ गते १ सय ४९ सांसदको हस्ताक्षर लिएर कांग्रेस सभापति देउवा राष्ट्रपतिको कार्यालय पुगेर प्रधानमन्त्री पदको दाबी पेस गर्नुभएको थियो । तर राष्ट्रपति भण्डारीले दाबी नपुगेको भन्दै उहाँको निवदेन खारेज गरेर संसदै विघटन गरेपछि विपक्षी ५ दलले कानुनी लडाइँ सुरु गरेका हुन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने घोषणा गर्दै संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुभएको थियो । तर पछि उहाँ आफैं पनि १५३ सांसद आफन पक्षमा रहेको भन्दै प्रधानमन्त्री पदको दाबी गर्न राष्ट्रपति कार्यालय जानुभएको थियो । यसपछि राष्ट्रपतिले ओली र देउवा दुवैको दाबी नपुगेको भन्दै शुक्रबार मध्यराति प्रतिनिधि सभा नै भंग गर्नुभएको हो ।
सर्वोच्चमा २५ रिट
गत पुस ५ गते प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी मिलेर प्रतिनिधि सभा भंग गरेका थिए । जसलाई सर्वोच्च अदालतको फागुन ११ को फैसलाले उल्ट्याइदिएको थियो । त्यतिबेला संसद विघटनविरुद्ध १३ वटा रिट परेका थिए । सो फैसलाको पूर्णपाठ आउन बाँकी नै छ ।
तर, पुनः राष्ट्रपति र प्रधानमन्त्रीले उही हर्कत दोहोर्याएपछि पुनः कानुनी लडाइँ सुरु भएको छ । सर्वोच्च स्रोतका अनुसार आइतबारसम्म सर्वोच्चमा संसद पुनर्स्थापनाको माग गर्दै २५ वटा रिट निवेदन दर्ता भइसेकेका छन् । यस्तै, आज विपक्षी पाँच दलले रिट दर्ता गर्दैछन् ।