काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वलाई जोगाउन भारत खुला रुपमा आएको निष्कर्ष निकालेको छ । मंगलबार सत्तारुढ भारतीय जनता पार्टी भाजपाका नेता सुब्रमण्यम स्वामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको रोजाइको नेता भएको बताएपछि नेपाल समूहले यस्तो निष्कर्ष निकालेको हो ।
नेपाल पक्षका स्थायी कमिटीका सदस्यको भर्चुअल छलफलमा भारत खुल्लमखुल्ला ओलीको निरन्तरताका लागि लागिपरेकाले नयाँ गठनमा कठिनाइ उत्पन्न भएको निष्कर्ष निकालेको नेता बेदुराम भुसालले बताउनुभयो ।
‘ओलीलाई जोगाउन र निरन्तरता दिन भारत खुला रुपमा आएको कारण परिस्थिति जटिल बनेको हो भन्ने निष्कर्ष आजको छलफलको रह्यो,’ भुसालले भन्नुभयो, ‘यसैले नयाँ सरकार बनाउन अफ्ठ्यारो भयो ।’
भुसालले भारतका सत्तारुढ दल भारतीय जनता पार्टीका नेता सुब्रमन्यम स्वामीको पछिल्लो अभिव्यक्ति त्यसैको एउटा उदाहरण भएको बताउनुभयो । उहाँले नयाँ सरकार बनाउन आफूहरुको भूमिका नहुने पनि स्पष्ट पार्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रपतिबाट भएको आह्वानले दलहरुको बहुमत खोजेको छ । त्यसमा हाम्रो भूमिका हुँदैन । अहिले जसपा, माओवादी र कांग्रेसको भूमिका देखिनुपर्छ ।’
भाजपा नेता स्वामीले मंगलबार ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको रोजाइको नेता भएको बताएका थिए । नेपालमा नयाँ सत्ता समीकरणका लागि व्यापक कसरत भइरहेका बेला उनले सो टिप्पणी गरेका हुन् ।
‘मेरो जानकारीमा भएअनुसार, नेपालमा भारतको रोजाइमा ओली नै थिए। यदि प्रचण्ड प्रधानमन्त्री भए भने चाहिँ चीनको जित हुनेछ,’ उनले लेखेका छन् ।
प्रधानमन्त्री ओली संसदबाट पदमुक्त भएर नयाँ सरकार बनाउने प्रयास भइरहेका बेला भारतीय संस्थापन पक्षका नेताको यो भनाइले नेपालमा भारतीय चासो स्पष्ट भएको छ । भारतको राज्य सभामा सांसद रहेका स्वामी यसअघि केन्द्रीय सरकारमा मन्त्री थिए । उनी वीजेपीको विदेश मामिला हेर्ने एक नेता हुन् ।