काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बनमा परेका छन् । पार्टीविरोधी गतिविधि गरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले नेताद्वयलाई बिहीबार निलम्बन गर्नुभएको हो ।
यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई सोही कारबाही गरिएको थियो । पार्टीका वरिष्ठ नेता नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव भुसाल र स्थायी समिति सदस्य पाण्डेलाई पार्टीविरुद्ध गतिबिधि गरेको भनी स्पष्टीकरण सोधिएको थियो । उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै चारैजना नेतालाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेको एमालेले जनाएको छ ।
निलम्बनमा परेका नेताहरुलाई एकैचोटी ठूलो कारबाही गर्न भन्दा ‘सच्चिन मौका दिइएको’ र पार्टी विरोधी गतिविधि गरे बिचैमा पनि अझ ठूलो कारबाही हुनसक्ने चेतावनी दिइएको छ । चारै नेतालाई संसद सदस्यको पदबाहेक सबै जिम्मेवारीबाट हटाइएको पत्रमा उल्लेख छ ।

