टेकराज भुसाल, अर्घाखाँची
भलिबल खेलका राष्ट्रिय रेफ्री चित्र गुरुङ र खुम गाउँले अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पृथ्वी थापाको विशेष पहलमा अर्घाखाँचीको ढाकावाङ आउने भएका छन् ।
पिपलनेटा बजार व्यवस्थापन समितिको आयोजनामा यहि चैत १३ देखि १५ गतेसम्म भूमिकास्थान नगरपालिकाको १ र २ नम्बर वडाको पिपलनेटामा खुल्ला भलिबल प्रतियोगिता हुँदैछ । सो प्रतियोगितालाई सभ्य, अनुशासित एवम् विवादरहित बनाउनका लागि राष्ट्रिय रेफ्री गुरुङ र गाउँले ढाकावाङ आउन लागेको आयोजकले जनाएको छ।
जिल्लाभित्र तथा जिल्ला बाहिरका राष्ट्रिय भलिबल खेलाडी टिमहरूको सहभागिताको अपेक्षाका साथ सञ्चालन गरिने उक्त प्रतियोगिताको विजेताले जिल्लाकै सर्वाधिक पुरस्कार रू ५१ हजार, शिल्ड, मेडल र प्रमाणप्रत्र प्राप्त गर्नेछन् ।
साथै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमश ३१ र २१ हजार रुपैयाँ, शिल्ड, मेड्ल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

