केशवनाथ योगी (एकान्त)
वाह राजधानी !!
कति चाँडै बदलियौ,
साँच्चै द्रुत गतिमा बदलियौ,
सायद,
परिवर्तन तिम्रो फिदरतमा थियो,
वा तिम्रो बाध्यता
जे भएपनि तिमी बदलियौ
सोचे भन्दा चाँडो, समय भन्दा पहिले बदलियौ
वाह राजधानी
कति चाँडै बदलियौ
जब तिमी विगतमा थियौ
म वर्तमानमा थिएँ
मतलब तिमीसँग थिएँ
मलाई गर्व थियो
किनकी तिमीसँग आत्मियता थियो
स्नेह थियो, सद्भाव अनि प्रेम थियो
तिम्रो आत्मियताको न्यानो स्पर्शले
शिषिरयामको जाडोमा
कठ्याङ्ग्रीएको,
ठोस शरीर पनि तरल हुन्थ्यो
अनि
उत्साहित भएर बग्दथ्यो
श्रमशील जीवनको गोरेटो
जहाँ एक होईन, हजारौँ काँडाहरु
अनि हजारौँ
धारिला पथ्थरहरुको
खानमा पनि
यात्रा सरल हुन्थ्यो
शायद
तिमीमा आएको बदलावको प्रभाव
सम्पुर्ण भागमा पर्यो
अलि मेरो भागमा पनि पर्यो
त्यसैले होला गृष्म ऋतुमा पनि
शरीर कठ्याङग्रीएको छ
तरल होईन
कडा छ, ठोस् छ
तरल हुन सकेन,
तरल भएर बग्न सकेन
किनकी
तिमीसँग अब आत्मियता रहेन
स्नेह रहेन, सदभाव अनि प्रेम रहेन
आज
जीवनको गोरेटोमा
चसक्क घोच्ने काँडाहरु छैनन्
धारिला पथ्थरहरु पनि छैनन्
गल्ली, गोरेटो अनि बाटाहरु
सबै कालो अनि चिल्लो छ
तर पनि
यात्रा सरल हुन सकेन
हो राजधानी
सहज हुन सकेन
हिजो गल्ली, बाटो र सडकहरु
एकदम शान्त थियो
जहाँ गएपनि, जता गए पनि
कुनै कोलाहल थिएन
निर्भय, स्वतन्त्र अनि बसन्त बिहार झैँ
एकान्त थियो, आनन्द थियो
तनाव मुक्त परिवेश थियो
खुला अनि शुद्ध वातावरण थियो
साँच्चै, हो राजधानी
त्यो पल एकदम शान्त थियो
तिमि आज किन अशान्त
हिजो कँयारले छाएको बस्तीहरु
जहाँ
सबै कँयारीहरु हुन्थे
उनीहरु तिम्रो कुरा पनि सुन्थे
मेरो कुरा पनि सुन्थे
उनीहरु सबका कुरा सुन्थे
दुःखी, पीडित अनि गरिब
जाति जनजातीको कुरा सुन्थे
सक्ने जति स्नेह बाँडिन्थ्यो
प्रेम बाँडिन्थ्यो,
सद्भाव बाँडिन्थ्यो,
मित्रताको सम्पुर्ण अर्थ बाँडिन्थ्यो
वास्तवमा
समाज भित्र व्यबहार बाँडिन्थ्यो
हो राजधानी
आज संरचना बदलिएको छ
स्वरूप बदलिएको छ
तिम्रो रुप अनि रंग बदलिएको छ
त्यति मात्र होइन
मन, विचार अनि
जीवनको ढंग बदलिएको छ
हो राजधानी
त्यसैले आज
कोही कसैको कुरा सुन्ने पक्षमा छैन
कोही कसैलाई केही भन्ने पक्षमा छैन
किनकी कोही सुन्ने पक्षमा छैन
हो राजधानी
सब बदलियौ
मित्रताको अर्थ बदलियौ
प्रेमको परिभाषा बदलियौ
सम्पुर्ण समाजको
विश्लेषण बदलियौ
एकता, स्नेह र सदभाव बदलियौ
वाह राजधानी
कति चाँडै बदलियौ
किन राजधानी
यति चाँडै बदलियौ