काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच सहमति भएको छ । सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच बिहीबार बिहान सहमति भएको हो ।
सरकारी वार्ता टोलीका सदस्य एवम् प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले वार्ता टोलीबीच तीन बुँदे सहमति भएको जानकारी दिनुभएको छ । दुई पक्षबीच भएको सहमतिअनुसार विप्लव पक्षले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरु रहेका छन् ।
सहमतिको विस्तृत विवरण भोलि शुक्रबार दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने छ । सो समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र भूमिगत नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सम्बोधन गर्ने सहमतिपत्रमा उल्लेख छ ।
