काठमाडौं । चीन सरकारले नेपाली सेनालाई १५ करोड रुपैयाँ बराबरको सैन्य सामाग्री प्रदान गरेको छ । नेपाली सेनालाई मानवीय तथा विपद् व्यवस्थापनका लागि १५ करोड आरएमबी बराबरको सैन्य सामग्री उपलब्ध गराउने सम्झौतामा आइतबार दुईपक्षीय सम्झौता भएको हो ।
सम्झौतामा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका रक्षामन्त्री वेइ फेङ्हेबीले बेइजिङमा हस्ताक्षर गरे । चीनका राष्ट्रपति सी चीनफिङको गत असोज २५ र २६ मा भएको नेपालको राजकीय भ्रमणका क्रममा चीनले नेपाललाई उक्त सहायता उपलब्ध गराउने प्रस्ताव गरिएको थियो । उक्त सहयोग तीन वर्षभित्रमा प्राप्त हुनेछ ।
गत वर्षको चीन भ्रमणका क्रममा पनि दुई देशका रक्षामन्त्रीबीच नेपाली सेनालाई पन्ध्र करोड युयान बराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सहायता सामग्री उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएकोमा सो कार्यान्वयनको चरणमा छ। चीनका रक्षामन्त्रीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पोखरेल नेतृत्वको टोली हाल बेइजिङमा छ ।

