गिरीप्रसाद बुढा/मुसिकोट ।।
राष्ट्रिय जनमोर्चा रुकुम पश्चिमको आयोजनामा रुकुम जिल्लाको सदरमुकाम मुसिकोट खलङ्गा बजारमा आज माघ २७ गते कोणसभाको कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गरौँ, ओली सरकारको असंवैधानिक कदम, भ्रष्टाचार र सङ्घीयताको विरोध गरौँ मूल नाराका साथ सम्पन्न उक्त कोणसभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज रत्नविक्रम राना प्यासी र राष्ट्रिय जनमोर्चा रुकुम पश्चिमका अध्यक्ष गिरीप्रसाद बुढाले मन्तब्य राख्नुभएको थियो ।
मन्तव्यको क्रममा रत्नविक्रम राना प्यासीले नेपालको राजनीतिमा विदेशी साम्राज्यवादी शक्तिहरूको चलखेल बढ्ने गरेकाले राष्ट्रियताको रक्षा गर्न साम्राज्यवादको विरुद्धमा सबैले आवाज उठाउनुपर्छ भन्दै वर्तमान ओली सरकारको असंवैधानिक कदम तथा प्रतिगमन नसच्चिएमा संयुक्त आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले सङ्घीयताको खारेजी तथा राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षाका लागि एकजुट हुनका लागि आम जनसमुदायलाई आह्वान गर्नुभएको थियो ।
जनभेटघाट तथा पर्चा वितरणपश्चात् सुरु भएको कोणसभामा राष्ट्रिय जनमोर्चा रुकुम पश्चिमका सचिव खड्कसिं खड्का, कोषाध्यक्ष सत्यनारायण श्रेष्ठ र उपाध्यक्ष तुलबहादुर खत्रीको समेत आतिथ्यता रहेको थियो ।