काठमाडौँ । श्रव्य पुस्तकालय तथा श्रोतकेन्द्र नेपालले त्रिविमा अपाङ्गतामैत्री शैक्षिक वातावरण निर्माण गर्ने माग राख्दै उपकुलपति डा. धर्मानन्द बास्कोटालाई ज्ञापनपत्र बुझाएको छ ।
श्रोतकेन्द्रका अध्यक्ष रमेशबाबु तिवारीको नेतृत्वमा पदाधिकारीहरू डा. गोविन्दप्रसाद आचार्य, अनुमिस्त तिमिल्सिना, कोपिला गुरुङ, जगत् थापा, चन्द्रा बस्नेत र सुदिप रैलासहितको प्रतिनिधि मण्डलले उपकुलपति बास्कोटालाई २०७७ पुस २८ गते मागपत्र बुझाएको हो ।
मागपत्रको पूर्ण पाठ यस्तो छ–
“नेपालको जेठो विश्वविद्यालय—जहाँबाट अन्य विश्वविद्यालयको निर्माण भएको हो—मा विभिन्न विषयहरू अध्ययन–अध्यापन गराइन्छ, यो गौरव गर्ने विषय हो । विभिन्न विभागमा दृष्टिविहीन भएका विद्यार्थी पनि अध्ययन गर्छन् ।
विभागले आआफ्नो उद्देश्य, विषय, प्रकृतिअनुसारको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्छन् । तर विगतदेखि वर्तमानसम्म समस्या परेका दृष्टिविहीनलाई ती पाठ्यक्रम र पाठ्यपुस्तक अध्ययन गर्ने सवालमा बेवास्ता गरिँदै आएको छ । पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्दा न अपाङ्गता भएका व्यक्तिको सहभागिता गराइन्छ, न तिनीहरूलाई छलफलमा सहभागी गराइन्छ; न विज्ञ व्यक्तित्वले वास्ता गरेको पाइन्छ, न दृष्टिविहीनमैत्री बनाउने प्रयत्न वा कार्यक्रम बनाइन्छ । अपाङ्गता भएका व्यक्तिमा पनि विज्ञता हासिल गरेका विज्ञ व्यक्तित्व छन् भन्ने कुरालाई नजरअन्दाज गरिएको छ । सबल, सक्षम र सफल व्यक्ति छन् भन्ने कुरालाई ध्यान नदिई तिनीहरूका विषयमा बनाएका केही कार्यक्रम औपचारिकताका र आवरणमा मात्र सीमित भएका छन् । तिनीहरूको समस्या र मर्म अनुकूल हुन सकेका छैनन् । यसो हुनुको मूल कारण छलफलमा वा कुनै पनि कार्यक्रममा लक्षितवर्गलाई सहभागी नगराउनुको परिणाम हो ।
नेपालको संविधान–२०७२ ले शिक्षाको माध्यम ब्रेललिपि हुने छ भनी संविधानको मौलिक हकअन्तर्गत धारा–३१ को बुँदा नम्बर ४ मा स्पष्ट किटान गरेको छ । यसका साथै अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी बनाइएका शिक्षासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन, नीतिनियम, सन्धिसम्झौतानुरूप विश्वविद्यालयले व्यवहारमा लागु वा पालना गरेका छैनन् । यसप्रति कसैको ध्यान नगएको हुँदा यस विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा अध्यनरत दृष्टिविहीन विद्यार्थीलाई दृष्टिविहीनमैत्री पाठ्यपुस्तकको अभावमा गुणस्तरीय शिक्षाको विकासमा अवरोध सिर्जना भएकाले उक्त अवरोध समाधान गर्नका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गतको केन्द्रीय पुस्तकालयमा समेत बारम्बार अनुरोध गर्दा पनि तिनीहरूलाई बेवास्ता गरेसरहको व्यवहार देखिन आएकाले विश्वविद्यालयको सबैलाई शिक्षामा पहुँच पुर्याउने कार्यमा अवरोध सिर्जना भएको छ ।
यस विषयमा हामी यहाँसमक्ष गम्भीर ध्यानाकर्षण गराउँदै निम्न माग प्रस्तुत गर्दछौँ :
१. वर्तमान सन्दर्भमा ब्रेललिपिमा पुस्तक निर्माण हुनुपर्ने हो, जसलाई देशको मूल कानुन नेपालको संविधान–२०७२ ले स्पष्ट किटान गरी मौलिक हकमा समावेश गरेको छ । यसको वैकल्पिक रूपमा श्रव्य पुस्तकको निर्माण गरी सहजीकरण गर्न सकिने विषयतर्फ ध्यानाकर्षण गर्दछौँ ।
२. यसका लागी विश्वविद्यालयले आर्थीक श्रोत जुटाइदिएमा सहकार्य गर्ने गरी यस राष्ट्रियस्तरको र विगत वर्षदेखि आधुनिक उपकरण दैजी फम्र्याटमा दृष्टिविहीनमैत्री पाठ्यपुस्तक निर्माण गर्दै आएको यस श्रव्य पुस्तकालय तथा श्रोतकेन्द्र नेपालको लामो अनुभव र आफ्नो अध्ययन–अनुसन्धानका आधारमा विश्वविद्यालयको शैक्षिक उद्देश्य सफल हुने गरी काम गर्न उत्सुक छ । विश्वविद्यालयको श्रोतबाट तिनीहरूलाई सुविधा दिनु तिनीहरू मैत्री पुस्तकालय र पाठ्यपुस्तक निर्माण गर्नु विश्वविद्यालयको दायित्वअन्तर्गत पर्छ ।
३. विश्वविद्यालयको नियमानुसार पाठ्यक्रम तथा पाठ्यपुस्तक परिवर्तन हुँदै आएको छ; र, उक्त कार्य समयानुसार रहने छ । तर दृष्टिविहीनमैत्री कुनै पनि समयमा हुन नसकेको, कुनै पनि कार्यक्रममा व्यवस्था नगरिएको स्थिति न देश, न सरकार, न विश्वविद्यालय, न शैक्षिक कार्यक्रम, न त दृष्टिविहीन कसैका लागि पनि सुन्दर र शोभनीय बन्न सक्दैन । तसर्थ अविलम्ब दृष्टिविहीनमैत्री वनाउनका लागि ध्यानाकर्षण गर्दछौँ ।
४. तत्काल विश्वविद्यालयमा सम्भव नदेखिएकाले आफ्नै कार्यक्रम सम्झी लामो समयदेखि तिनीहरू मैत्री हुँदै समस्या समाधान गर्दै आएको यस पुस्तकालयसँग कार्य गर्ने गरी शिक्षा मन्त्रालय, योजना आयोग, अर्थ मन्त्रालय, विश्वविद्यालय अनुदान आयोगजस्ता संस्था वा निकायलाई अनुरोध वा सिफारिस गर्ने व्यवस्था गरेको खण्डमा संस्था सक्षम रहेको र हजारौँ दिृष्टिविहीन विद्यार्थी, अनुसन्धान गर्ने व्यक्ति लाभान्वित हुने छन् ।
५. विश्वविद्यालयका आङ्गिक वा सम्बन्धनप्राप्त क्याम्पसमा अध्ययनरत दिृष्टिविहीन विद्यार्थीलाई परीक्षामा लेखन सहयोगीको आवश्यकता पर्छ । यसका लागि नियमानुसार सम्बन्धित क्याम्पसको सिफारिसमा लेख्न सहयोग गर्ने व्यक्तिलाई डिन कार्यालय वा पनिका बल्खुले परीक्षा गार्डसरह पारिश्रमिकको व्यवस्था गर्नुपर्ने ।
६. दृष्टिविहीनले अध्ययन गर्ने क्याम्पसमा अनिवार्य रूपमा परीक्षामा लेखन सहयोगी रहन पाउने नियमानुसारका व्यक्तिलाई आवश्यक प्रशिक्षण दिलाई लेखन सहयोगी उपलब्ध गराउनुपर्ने ।
७. विश्वविद्यालयवाट सम्बन्धनप्राप्त निजी कलेज विश्वविद्यालयको कार्यक्रम नीतिनियमानुसार सञ्चालित हुन्छन् । ती कलेजलाई सम्बन्धन दिँदा अपाङ्गता भएका व्यक्तिलाई आङ्गिक क्याम्पसले जस्तै निःशुल्क भर्नाको प्रावधान गर्नका लागि आवश्यक व्यवस्थाका लागि माग गर्दछौँ ।
८. २०४०–४१ देखि यस विश्वविद्यालयको शिक्षा सङ्कायअन्तर्गत विशेष आवश्यकता शिक्षाको कार्यक्रम लागु गरिएको थियो; र, हालसम्म यथावत छ । जहाँ व्यापक रूपमा आर्थिक लगानी भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायले यसमा गम्भीर चासो राखे । तर यस कार्यक्रमको उपलब्धि फलदायक नभएको र निरन्तरता पाउन नसकेको विषयप्रति यहाँको पुनः ध्यानाकर्षण गराउँदै यस्तो हुनुको परिणाम के हो र ती योजनाको परिणाम कहाँ गयो ? किन विकसित हुन सकेन ? परियोजना रहुन्जेल शिक्षाका गन्यमान्य व्यक्ति, जसलाई यस विषयको मर्म, भावना, अनुभव, विशेषज्ञता छैन । त्यस्ता व्यक्तिहरूले अपाङ्गता भएका व्यक्तिलाई केवल प्रयोग र कमाउने आधारमा मात्र सीमित गरिएको स्थिति र अपाङ्गता भएका व्यक्ति र तिनीहरूका क्षेत्रमा काम गर्दै आएका अधिकारकर्मी र विश्वविद्यालयको शैक्षिक कार्यक्रमलाई समेत दीर्घकालीन क्षति पुर्याउने भएकाले उचित छानबिन गरी कारबाहीका लागि अनुरोध गर्दछौँ ।
९. विशेष आवश्यकता शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थासहित भर्ना गरिन्छ । तर उनीहरूले छात्रवृत्ति नपाएको गुनासो सुन्नुपर्दा उक्त विभाग कति गैरजिम्मेवार छ भन्ने कुरा स्पष्ट हुन्छ । यस विषयमा विश्वविद्यालयले छानबिन गर्नुपर्ने आवश्यकता छ ।
१०. विशेष आवश्यकता शिक्षा विभागवाट विगत र वर्तमान हेर्दा धेरै दक्ष व्यक्ति उत्पादन भइसक्नुपथ्र्यो । तर यसको स्थिति दयनीय देखिन्छ । यसको नाममा विदेश भ्रमण गर्ने, परियोजना ल्याउने विदेशमा अध्ययन गर्न जाने तर परिणाम सून्य हुने गरेको छ । यस विषयमा पनि यस विश्वविद्यालयले ध्यान पुर्याएमा विभागको उन्नति भई दक्ष जनशक्ति उत्पादन हुने छन् भन्नेमा हामी पूर्ण आशावादी छौँ ।
११. विश्वविद्यालय सभामा वा कुनै पनि निकाय वा परिषद्मा प्रतिनिधित्व सुनिश्चित गर्न र समावेशी मान्यतालाई विश्वविद्यालयवाट विज्ञता हासिल गरी कार्यमा संलग्न रहेकाहरूको सहभागिताले मात्र कार्यक्रम फलदायक हुने कुरा अवगत गराउँदै आगामी दिनमा सोहीअनुसार व्यवस्था गर्नका लागि अनुरोध गरिन्छ ।
१२. विश्वविद्यालयमा कर्मचारी राख्दा व्यक्तिगत चिनजान र पहुँचवालाको निकटका व्यक्तिले कहिँ न कहिँ प्रवेश गर्ने अवसर पाउँछन् । तर अपाङ्गता भएका व्यक्तिलाई त्यो अवसरवाट वन्चित गरिएको छ । तिनीहरू पनि राज्यका नागरिक भएकाले बन्चित हुनु, अवसर नपाउनु ज्यादै कारुणिक विषय बनेको हुँदा अपाङ्गता भएका व्यक्तिलाई दक्षता र आवश्यकतानुसार उपयुक्त ठाउँमा समावेश गरियोस् ।
१३. त्रिवि सेवा आयोगवाट कर्मचारी, शिक्षक छनोट गर्दा ऐननियममा व्यवस्था भएअनुसार र अपाङ्गताको वर्गीकरणअनुरूप तिनीहरूको परिचय पत्र र वर्तमान अपाङ्गतासम्बन्धी ऐन, नीतिनियमलाई आधार मानी सोहीमुताबिक कार्यविधि बनाउन अनुरोध गर्दछौँ ।
१४. वर्तमानका नीतिनियमले अब बन्ने सरकारी भवन अपाङ्गतामैत्री हुनुपर्छ भन्ने व्यवस्था गरेको छ । तर हाल निर्माण भएका त्रिभुवन बिश्वविद्यालयका नवनिर्मित भवन अपाङ्गतामैत्री नहुनु समय र अपाङ्गता भएका व्यक्ति र नीतिनियमप्रति अपमान वा बेवास्ता गरेको ठहर्छ । तसर्थ राज्यले दिएको अधिकारको सम्मान र मानवअधिकारको सिद्धान्तलाई गम्भीर रूपले मनन् गरी भएगरेका भुल सुधारेर यथाशीघ्र अपाङ्गतामैत्री नभएमा विश्वविद्यालयको लापरवाहीप्रति सम्मानित सर्वोच्च अदालतसम्म पुग्नुपर्ने स्थिति देखा परिरहेको छ । तसर्थ हाम्रो सहभागितामा यथाशीघ्र भवनहरू मैत्री बनाउन माग गर्छौं ।
१५. यस पुस्तकालयले गत वर्ष २०७६ मङ्सिर १३ गते द.नं. ३४३ को पत्रमा पनि यस्तै प्रकृतिको निवेदन पेस गरेर सचिवालयमार्फत यहाँसँग भेटेर कुरा गर्न चाहेका थियौँ । तर त्यहाँका कर्मचारीले अवसर नदिने, कार्यालयभित्र प्रवेश गर्दा अपाङ्गता भएका व्यक्तिको मानमर्दन वा सम्मानमा ठेस पुग्ने गरी मनोबल गिराउने खालका मानवीय भावनाभन्दा निकै पर गएर गर्दै आएको व्यवहार खेदजनक छ । यसका लागि विश्वविद्यालयले कर्मचारीलाई अविलम्ब प्रशिक्षण गराउनुपर्ने देखिन्छ ।”