काठमाडौँ । दृष्टिविहीनहरूको ज्ञानका अगुवा तथा ब्रेललिपिका आविष्कारक लुइस ब्रेलको २१२औँ जन्मदिवसको उपलक्ष्यमा श्रव्य पुस्तकालय तथा श्रोत केन्द्रको आयोजना तथा कीर्तिपुर नगरपालिकाको सहकार्यमा कीर्तिपुर नगरपालिकाको भवनमा अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष रमेशबाबु तिवारीको सभापतित्वमा अघि बढेको कार्यक्रममा प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र विशिष्ट अतिथि उपमेयर सरस्वती खड्का हुनुहुन्थ्यो ।
कार्यक्रममा कीर्तिपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख टङ्कलाल गैरे, सरकारी तथा निजी विद्यालयका प्रधानाध्याप, राष्ट्रिय अपाङ्ग युवा सञ्जालका अध्यक्ष महेन्द्र थापा, भक्तपुर नेत्रहीन सङ्घका अध्यक्ष सुरेश राजभण्डारी, कीर्तिपुर नगरपालिकाका अपाङ्ग समन्वय समितिका सदस्य लक्ष्मी काफ्ले, रत्न राज्यलक्ष्मी क्याम्पसका उपप्राध्यापक डा. गोविन्दप्रसाद आचार्यसहित कीर्तिपुर नगरपालिकाभित्र र काठमाडौँ उपत्यकाका दृष्टिविहीनको उपस्थिति रहेको थियो ।
संस्थाका कोषाध्यक्ष बालकृष्ण उप्रेतीले स्वागत मन्तव्यका साथै अघि बढेको कार्यक्रममा विशिष्ट अतिथि उपमेयर सरस्वती खड्काले पानसमा बत्ति बालेर लुइस ब्रेलको तस्बिरमा फूलमालाले माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
त्यस्तै, संस्थाका अध्यक्ष रमेशबाबु तिवारीले संस्थाको अवधारण पत्र वाचन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि रमेश महर्जनले श्रव्य पुस्तकालय तथा श्रोत केन्द्रले गरेका कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा यसै संस्थासंग सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा कीर्तिपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख टङ्कलाल गैरेका साथै विभिन्न संस्थाका पदाधिकारी र कार्यक्रममा सहभागीले पनि धारणा राख्नुभएको थियो ।