काठमाडौँ । महानगरीय अपराध महाशाखा संरक्षित वन्यजन्तु गैँडाको खागसहित काठमाडौँबाट पाँच जना पक्राउ गरेको छ ।
Advertisement
खागको अवैध रूपमा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा महाशाखाबाट खटिएको विशेष टोलीले उनीहरुलाई काठमाडौँको स्वयम्भू किमडोलबाट पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट एक थान गैँडाको खाग बरामद गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँको झोँछेका ४१ वर्षीय रिकेश शाक्य, सोही स्थानका ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ नुवाकोटको मेघाङ गाउँपालिका–६ का २६ वर्षीय रामसिंह तामाङ र सोही स्थानकी २२ वर्षीय मुना तामाङ रहेका छन् ।
पक्राउ परेका व्यक्तिहरूलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अन्तर्गत आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको महाशाखाले जनाएको छ ।