काठमाडौँ । भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेस गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार निकायका पदाधिकारीको बैठकले बासमती धानबारे भारतले गरेको दावीको प्रतिवाद गर्दै नेपालका तर्फबाट आधिकारिक दावी पेस गर्ने निर्णय गरेको छ ।
कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसी बासमती धान परापूर्व कालदेखि नेपालको विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन भएर विदेशमा समेत निर्यात हुने गरेकाले यसमा नेपालको समेत हक स्थापित हुनुपर्ने बताउनुहुन्छ ।
उहाँका अनुसार सो प्रयोजनका लागि नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्रमार्फत तोकिएको म्यादमा दावी विरोध गर्ने निर्णयानुसार नेपालका तर्फबाट केन्द्रले आधिकारिक दाबी पेस गर्ने निर्णय भएको छ ।