काठमाडौं । अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघ राष्ट्रिय भेलाको तयारीमा जुटेको छ । आगामी ६ महिनाभित्र राष्ट्रिय भेला गर्ने गरी तयारी समिति निर्माण गरिएको संयोजक पृथ्वी थापाले जानकारी दिनुभएको छ ।
बिहीबार विज्ञप्ति प्रकाशित गरी केन्द्रीय न्युक्लस संयोजक थापाले राष्ट्रिय भेलाको तयारीका लागि विधान निर्माण भइरहेको जनाउँदै संगठन दर्ता प्रक्रियामा गएको बताउनुभएको छ । भेला आयोजक समितिको संयोजकमा पृथ्वी थापा, सचिव भक्त विश्वकर्मा, कोषाध्यक्ष कुलबहादुर बुढा तथा सदस्यहरुमा विशनसिंह खड्का, विनोद गैरे र अशोक विक्रम जिसी हुनुहुन्छ भने १ स्थान रिक्त रहेको छ ।
यस्तो छ, विज्ञप्ति
‘कार्तिक १ गतेका दिन जुम प्रविधिबाट खेलकुदमा संलग्न खेलाडि तथा खेलप्रेमीहरुको सहभागितामा अखिल नेपाल राष्टिय खेलकुद महासंघ, केन्द्रिय न्यूक्लस गठन भएको जानकारी गराउन चाहन्छौं । खेलकुद क्षेत्रमा विद्यमान भ्रष्टाचार लगायत विभिन्न प्रकारका विकृति विसंगतिहरुका विरुद्ध सशक्त अभियान चाल्ने उदेश्यका साथ यो संस्था गठन भएको पनि हामी प्रष्ट पार्न चाहन्छौ ।
राज्यले खेलकुद क्षेत्रको उचित विकास गर्न सकिरहेको अवस्था छैन । सिमितरुपमा केहि गतिविधिहरु गरे पनि व्यापकरुपमा भ्रष्टाचार व्याप्त छ । नयाँ युवा प्रतिभाहरुका लागि खेलकुद क्षेत्रमा आफ्नो क्षमता उजागर गर्न आवश्यक वातावरण निर्माण हुन सकिरहेको अवस्था छैन । यी विभिन्न प्रकारका विकृतिहरुका विरुद्ध खेलकुद क्षेत्रमा संलग्न नयाँ उत्साह भएका युवाहरुको बीचमा बृहद संजाल बनाउने उदेश्यका साथ विभिन्न युवा खेलाडिहरुको सहभागितामा यो संस्थाको गठन भएको हो । युवाहरुलाई खेलकुद संगठनमा आवद्ध गरी मुलुकको खेलकुद क्षेत्रमा व्यापक परिवर्तन गर्ने यो संघको उदेश्य रहने छ ।
देशका विभिन्न जिल्ला तथा प्रदेशस्तरमा संगठन निर्माण गरि आगामि ६ महिनाभित्र बृहद राष्टिय भेला गर्ने यो समितिको उदेश्य रहने छ । छिटै विधान तथा आवश्यक प्रक्रियाहरु पुरा गरि दर्ता प्रक्रिया पनि अगाडि बढाइने हामी जानकारी गराउन चाहन्छौ । राष्टिय भेला तयारीका लागि निम्नप्रकारले एक समितिको निर्माण गरिएको छ, जसमा संयोजक पृथ्वी थापा, सचिव भक्त विश्वकर्मा, कोषाध्यक्ष कुलबहादुर बुढा तथा सदस्यहरुमा विशनसिंह खड्का, विनोद गैरे र अशोक विक्रम जिसी हुनुहुन्छ भने १ स्थान रिक्त रहेको छ ।’

