खिमराज चालिसे, चन्डिगढ (भारत) ।।
भारत हरियाणा राज्यको हिसारस्थित छोटुराम पार्कमा छरछिमेकीहरूसँगै बसोबास गर्दै आइरहेका एक युवक दिनेश विश्वकर्माको हिजो अक्टोबर १० को बिहानै असमयिक निधन भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिका सचिव तारा सोमारेले सो जानकारी दिनुभएको हो ।
एक दिन पहिला साँझ मात्र छाती र टाउको दुखेको बताएपछि साथीहरूले दिनेशलाई मालिस गरिदिएका थिए । केही बेरपछि आराम भयो भन्दै सबैसँगै सुतेका ३५ वर्षीय दिनेश बिहान सबैसँग उठेर साथीहरुसँगै चियानास्तासमेत गरेका थिए। उनीबाहेक सबै साथीहरू बिहानको घुमफिरमा गएका थिए । साथीहरू फर्केर आउँदा दिनेश भने मृत अवस्थामा भेटिएका थिए ।
अचानक मृत्यु भएको हुँदा नजिकै रहेको पुलिसचौकीबाट पुलिस, कर्मचारी तथा सिभिल अस्पताल हिसारका डाक्टर, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर हिसार र प्रवासी नेपाली सङ्घका कार्यकर्ताहरूको उपस्थितिमा घटनाबारे व्यापक सोधपुछ र आवश्यक छानबिन भएको थियो ।
मृतक दिनेश विक बुटवल नगरपालिका–६ शिवनगर, रुपन्देही निवासी हस्तबहादुर विकका छोरा भएको थाहा लागको छ । मृतकका परिवारिक सदस्यहरू नेपालबाट आएपछि पोस्टमार्टम गर्ने गरी शव सिभिल अस्पतालमा राखिएको छ।