नेपालको राज्य सत्ता सञ्चालनमा पूर्वीय दर्शनको प्रभावबारे गहकिलो पुस्तक बजारमा आएको छ।
लेखक विमल पोखरेलले ‘नेपालमा पूर्वीय दर्शनको शासन’ नामक पुस्तकमार्फत पूर्वीय दर्शन र शासन व्यवस्थाबीचको अन्तरसम्बन्धलाई मसिनो गरी केलाउने प्रयास गरेका छन्।
पूर्वीय दर्शनको शासनसत्तासँगको सम्बन्धबारेका पुस्तकहरु यसअघि प्रकासित भएको जानकारीमा छैन। यसर्थ यस विषयमा चासो राख्नेहरुका लागि पोखरेलको पुस्तकले थोरै भएपनि अभाव पुर्ति गरेको छ।
यसअघि ‘शिक्षाको राजनीतिक स्वरुप–२०६६’ र ज्ञानको पाइला–२०६८’ मार्फत चर्चा कमाएका विद्यार्थी नेता पोखरेलले विषयबस्तुको जति गहिरिएर अध्ययन गर्छन्, त्यति नै सरल शब्दमा प्रस्तुत गर्ने उनको शैलीले पाठकलाई मोहित पार्छ।
दर्शन केवल दर्शन मात्रै होइन, यो शासनसत्ताको प्रतिविम्ब पनि हो। हरेक परिवर्तनको प्रतिविम्ब दर्शनमा देखापर्छ। दार्शनिक मान्यताहरु निरन्तर परिवर्तन भइरहेका छन्। दर्शनले समाजका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, सैनिक पक्षहरुमा दरिलो प्रभाव पार्न सक्छ। दर्शन यही पृथ्वीमा भइरहेका भौतिक गतिविधिहरुको मान्छेको दिमागको उपज हो।
प्रस्तुत पुस्तकमा पूर्वीय अध्यात्मवादी र पूर्वीय भौतिकवादी दर्शनको द्वन्द्वलाई रोचक विश्लेषण गरिएको छ । माक्र्सवादमा विश्वास राख्ने विद्यार्थी नेताको प्रस्तुत पुस्तकले पूर्वीय दार्शनिक व्याख्यामा नयाँ आयाम थपेको छ । पोखरेलले दार्शनिक बहसमा आफूलाई उभ्याएका छन्। नेपालको दार्शनिक क्षेत्रमा यो उल्लेख्य उपलब्धि पनि हो ।
हरेक विषयवस्तुलाई प्रमाणिक प्रस्तुती पुस्तकको रोचक पक्ष हो। पूर्वीय अध्यात्मवादी दर्शनले नेपाली समाज, शासनसत्तामाथि यति लामो समयसम्म कसरी नियन्त्रण जमाउन सक्यो भन्ने कुरालाई पुस्तकमा पस्किन सक्नु पोखरेलको सफलता हो।
पूर्वीय अध्यात्मवादी दर्शनमा कुलीनहरुले किन निरन्तर पकड जमाउन सके, छुवाछूतले कसरी साम्राज्य जमाउन सक्यो, अध्यात्मवादले अगाडि सारेको पूर्वजन्म वा पुनर्जन्म, दलितहरुमा हजारौँ वर्षदेखिको छुवाछुत जस्ता कुराहरुको सुक्ष्म विश्लेषण गरिएको पुस्तक बनेको छ।
पूर्वीय दर्शन भन्नाले केवल अध्यात्मवादी दर्शनलाई बुझ्ने गरिन्छ। तर बौद्ध, सांख्य, जैनजस्ता भौतिकवादी दर्शनले आफूलाई स्थापित गर्न सफल भएका छन्।
हिन्दू अध्यात्मवादी दर्शनको केन्द्रमा राजा नै रहेका छन्। राजालाई भगवानको प्रतीक मानिएको छ। तर आज राजा नहुँदा पनि पूर्वीय अध्यात्मवादी दर्शनले समाजमा जरा गाडेर बसेको छ।
यद्यपि पूर्वीय अध्यात्मवादी दार्शनिकहरुले शासनसत्तामा राजालाई निर्विकल्प प्रस्तुत गरेका छन्। मनु, याज्ञबल्क, शुक्राचार्य आदी दार्शनिकहरुले राजालाई शक्तिशाली रुपमा प्रस्तुत गरेका छन्। तर त्यति शक्तिशाली राजाले शासन गरेका राज्यहरु पछिल्लो समय यस क्षेत्रमा किन ढले? तिनीहरुको विकल्पबारेमा पूर्वीय दार्शनिक कृतिहरु मौन रहे पनि समयको बदलावलाई अध्यात्मवादले स्वीकार गर्न नसकेको कुराबाट सबैभन्दा मार अध्यात्मवादी दर्शनले नै खाएको छ।
भौतिकवादी तथा नास्तिकहरु समाजमा बढ्दै जानुले अध्यात्मवादप्रतिको चासो कम हुँदै गएको छ। पुस्तकमा अध्यात्मवाद र त्यसको शासनको ढल्दै गरेका दृश्यहरुलाई ऐतिहासिक रुपमा विश्लेषण गरेका छन्।
पुस्तकको भूमिका मोहनविक्रम सिंहले लेखेका छन् भने आहुती, शे तोकारेव, मोहन वैद्य, गोपीनाथ शर्मा, विशाल खनाल, श्रीरामप्रसाद उपाध्याय, ज्ञाइन्द्रबहादुर श्रेष्ठ जस्ता विद्धानहरुको टिप्पणी समेटिएको छ।
परिवेश मिडिया प्रालिद्वारा प्रकासित पुस्तकको मूल्य चार सय रुपैयाँ राखिएको छ।