काठमाडौं । चौथो रोल्पा खुल्ला सिनियर महिला भर्चुअल तेक्वान्दो आईटि।एफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिपमा बागलुङकी वसन्ती बुढा मगर च्याम्पियन भएकी छिन् । रोल्पा आईटीएफ तेक्वान्दो संघको आयोजनामा शनिबार सम्पन्न भएको च्यम्पियनसिपमा बसन्ती बुढा मगरले प्रथम स्थान हासिल गरेकी छिन् ।
त्यस्तै काठमाडौंकी पुजा खुलाल मगर दोस्रो स्थानमा सिमित भएकी छिन् भने पाल्पाकी निस्मा बस्याल तेस्रो भएकी छिन्।
पाँच पक्ष राखिएको प्याट्रन निर्धारणमा कुल ३४ स्कोर रहेको थियो जसमध्ये बसन्ती बुढा मगरले ३१.५ अंक, पुजा खुलाल मगरले २९ अंक र निश्मा बस्यालले २७ अंक प्राप्त गरेको जनाइएको छ ।
नेपाल आईटीएफ तेक्वान्दो महासंघका रेफ्री चेयरमेन प्रबिन कुमार कार्कीको नेतृत्वमा सात सदस्यीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीहरुले महासंघ र जिल्ला संघको सहकार्यमा खेलाडीले पठाएको भिडियोको मुल्यांकन गरी भिडियो कन्फेरेन्स मार्फत नतिजा सार्बजनिक गरेको प्रतियोगिताका संयोजक तथा रोल्पा आईटीएफ तेक्वान्दो संघका अध्यक्ष बिक्रम बाठामगरले जानकारी दिनुभयो । प्रतियोगितामा देशभरिबाट १२३ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।
च्याम्पियनसिपमा पहिलो स्थान लिने प्रतियोगी बसन्ती बुढा मगरलाई रु १२ हजार, दोस्रो हुने पुजा खुलाल मगरलाई रु ८ हजार र तेस्रो हुने निश्मा बस्याल लाई रु ६ हजार रकम हस्तान्तरण गरेको संघका सचिब कृष्ण प्रसाद बाठा मगरले जानकारी दिनु भयो ।