काठमाडौंँ। नेपाल एथलेटिक्स संघले एथलेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि गरिएको कुटपिटको घटनामा संलग्नललाई कारवाहीको माग गरेको छ ।
संघका अध्यक्ष राजीवविक्रम शाहले आज विज्ञप्ती जारी गर्दै खेलाडी लामगादेलाई आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन माग गर्नुभएको हो । चन्द्रकलालाई सोमबार राति झापाको मेचीनगर नगरपालिकाको चारआलीमा छिमेकीले आक्रमण गरेका थिए । उनलाई छिमेकी दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले कुटपिट गरेका थिए ।
कुटाईबाट चन्द्रकला सख्त घाइते हुनुभएको छ । गर्भवतीसमेत रहनुभएकी उहाँको झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । नेपाल पुलिस क्लबमा आवद्ध चन्द्रकला कोरोना महामारीका कारण गत चैतमा लकडाउन हुनुअघि झापा जानुभएको थियो ।
यसैबीच नेपाल एथलेटिक्स संघका अध्यक्ष शाहीले लामगादेको उपचारका लागि रु २१ हजार सहयोग गर्नुभएको छ । अध्यक्ष शाहीका अनुसार चन्द्रकलालाई कुटपिट गर्ने श्रेष्ठ दम्पतीलाई इलाका प्रहरी कार्यालय धुलाबारीले पक्राउ गरेको छ । एथलेटिक्स खेलाडी चन्द्रकलाले पूर्वाञ्चलमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुद र प्रदेश नं ५ मा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा सटपुट र ज्याभलिन थ्रोमा स्वर्ण पदक जित्त्नुभएको थियो ।
उहाँको नाममा आठौँ राष्ट्रिय खेलकुदमा एथलेटिक्सको सटपुटमा १२.०४ मिटर तथा ज्याभलिन थ्रोमा ४४.०४ मिटर थ्रो गरेको राष्ट्रिय कीर्तिमान छ ।