काठमाडौँ । नेपाल पत्रकार महासङ्घले यही भदौ महिनाभर सदस्यता नवीकरणका लागि म्याद थप गरेको छ । बुधबार जुम मार्फत् भएको महासङ्घको राष्ट्रिय भेलाले सदस्यता नवीकरण र नयाँ सदस्यता प्राप्तिको म्याद २०७७ भदौ मसान्तसम्म थप गर्ने निर्णय गरेको हो ।
शाखाहरूले सो अवधिभित्रै सदस्यताको सिफारिस प्रदेश समितिसमक्ष पेश गरिसक्ने र प्रदेश समितिले असोज मसान्तसम्म केन्द्रीय समितिसमक्ष पेश गरी केन्द्रमा अभिलेख राख्ने निर्णय भएको महासङ्घले जनाएको छ।
यस्तै, कोरोना महाव्याधिका कारण सञ्चार क्षेत्र र महासङ्घका सदस्यहरूले झेल्नुपरेको आर्थिक अभावलाई दृष्टिगत गरी २०७७ सालको सदस्यता शुल्क छुट दिई यसलाई केन्द्रीय साधारण सभाबाट अनुमोदन गरी छुटका हकमा विधानको व्यवस्था हेरफेर गर्न केन्द्रीय साधारण सभामा प्रस्ताव लैजान भेलाले सहमति प्रदान गरेको छ।
राष्ट्रिय भेलाले केन्द्र, प्रदेश तथा जिल्ला कार्यसमितिको कार्यकाल छ महिना थप गर्ने निर्णय पनि गरेको छ । कोरोना महाव्याधिको जोखिममा तत्काल महाधिवेशन सम्पन्न गर्न असम्भव देखिएकाले महासङ्घको विधानबमोजिम केन्द्र, प्रदेश र जिल्ला शाखाहरूको कार्यकाल छ महिना थप गर्ने निर्णय गरेको हो ।
भेलाले केन्द्रीय समितिको तर्फबाट अध्यक्ष गोविन्द आचार्यबाट प्रस्तावित प्रस्तावहरू छलफलपछि परिमार्जनसहित सर्वसम्मत रूपमा पारित गरेको छ ।
महासङ्घले मङ्सिर महिनाभित्र जिल्ला, प्रतिष्ठान र एसोसिएट शाखाको, पुस महिनाभित्रमा प्रदेश समितिहरुको र माघ ४ र ५ गते केन्द्रीय साधारण सभा सम्पन्न गर्ने, २०७७ फागनु ३ गते केन्द्र, प्रदेश र शाखाको निर्वाचन सम्पन्न गर्ने, कथम्कदाचित् कोरोना महाव्याधिका कारण उल्लेखित कार्यतालिका कार्यान्वयनमा जटिलता उत्पन्न भएको खण्डमा सम्पूर्ण कार्यतालिका पुनरावलोकन गर्ने अख्तियार केन्द्रीय समितिलाई प्रदान गर्ने निर्णय गरेको छ ।