जुम्ला । जिल्लामा एक वर्षको अवधिमा आठ हजार ६० जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका राष्ट्रिय परिचयपत्र शाखा प्रमुख कृष्णमाया रोकायाका अनुसार गत आर्थिक वर्ष २०८२र८३ मा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।
सरकारले सामाजिक सुरक्षा भत्तालगायतका सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि चालु आवको दुई महिनामा एक हजार ४६१ जनाले आवेदन दिएका छन् ।
यसैगरी, गत वर्ष ९७२ जनाले राहदानी लिएका थिए । यस्तै, चालु आवको दुई महिनामा १८६ जनाले राहदानी बनाएका छन् । हुलाकमार्फत २२० सेवाग्राहीको राहदानी घरमै पुर्याइएको जिल्ला प्रशासन कार्यालयका राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जानकारी दिनुभयो ।
प्रशासन कार्यालय र हुलाक कार्यालयबीच भएको सम्झौताअनुसार गत वैशाखदेखि हुलाकमार्फत घरमै राहदानी पुर्याउने सेवा सञ्चालन गरिएको छ ।
सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यले सरकारी कुरियर सेवा विस्तार गरिरहेको छ । गत चैत १३ गते स्वीकृत सरकारको शासकीय सुधारसम्बन्धी एक सय दिने कार्यसूचीअन्तर्गत हुलाक सेवालाई आधुनिकीकरण गर्दै सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
