काठमाडौँ । उनी हुन् युटुङ तामाङ । बाढीपीडित जिल्ला रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं. ३ को वासिन्दा । उनी लामो समयदेखि मिर्गौला बिरामी । काठमाडौँ वनस्थलीमा हप्ताको दुईपटक डाइलाइसिस गर्नुपर्छ ।
श्रीमान नर्बु तामाङले उनको उपचार गराइरहेका थिए । उपचार खर्च सकिएपछि बाढी आउनु केही दिनअघि मात्रै नर्बु रसुवा गाउँ गए । बाढी आउँदा उनी संयोगले जोगिए तर उनका भाइ, बुहारी र परिवारका अन्य कैयौं सदस्य बाढीमा परे ।
अहिले नर्बु गाउँमा बस्छन् । उनी गाउँमा सापटी खोज्न गएका अब कसैले सापटी दिने स्थिति भने भएन । गाउँको हरेक घर पीडा र छट्पटीमा छ।
नर्बुको तुरुन्तै काठमाडौ फर्किने सम्भावना छैन । बाढीले बाटो र पुल बगायो । उनी स्याफ्रुबेसी हुँदै काठमाडौँ आउनुपर्ने हो, जुन कुरा तत्काल सम्भव छैन । हेलिकप्टर चार्टर गर्ने कुरा असम्भव ।
यता युटुङ स्वयम्भूको एउटा कोठामा बसेकी छिन् । खाने खर्च छैन । ग्याँस छैन र सुको पैसा पनि छैन । छेउछाउका कोठामा बस्नेले केही खानेकुरा दिएका छन् तर डायलासिस गर्न जानको लागि ट्याक्सी भाडा र औषधी किन्ने उपाय छैन । उनको जिउ सुन्निएको छ । खुट्टामा घाउ निस्केर हिँड्डुल गर्ने अवस्था छैन । स्थिति पीडादायी छ ।
रसुवा बाढीले यस्ता भयानक थुप्रै चोट थोपरेको छ । हरेक परिवारमा यस्ता अनगिन्ती पीडा छन् । राज्यले कसरी यी सबै समस्याको समाधान गर्छ ? त्यो भन्न सकिन्न । प्रारम्भिक छनकले राज्य जिम्मेवारपूर्ण, संवेदनशील र न्यायपूर्ण नभएको देखिन्छ ।
पीडित युटुङलाई अखिल (छैठौं) को तर्फबाट २०८३ भदौ २२ गते पाँच हजार नगद सहयोग हस्तान्तरण गरेका छौँ । पक्कै पनि यो निकै सानो मानवीय सहयोग हो । उनलाई थप सहयोगको आवश्यकता छ । सक्ने साथीहरूले सहयोग गर्न सक्छन् । हामीले सिधै सम्पर्क गराउनेछौँ ।
अखिल (छैठौं) ले विद्यार्थी र बालबालिकाकेन्द्रित राहत सङ्कलन गरिरहेको छ । सहयोग गर्न चाहने साथीहरूले सम्पर्क गर्नुहोला । (सुवास जिसी)

